२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिममा एमाले रुपन्देहीले पठायो स्वयंसेवक

मंगलवार , मंसिर ५, २०८०

रुपन्देही, ५ मंसिर ।
नेकपा (एमाले) रुपन्देहीले भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिममा स्वयंसेवक पठाएको छ । गत कात्तिक १६ गते राती जाजरकोटको रामीडांडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पका कारण जनधनको क्षति भएको थियो ।

एमालेले भूकम्पबाट सयौं भौतिक संरचना भत्किएर क्षति भएको पश्चिम रुकुमको बिसकोट नगरपालिकामा तत्कालको लागि अस्थायी घरटहरा निर्माणका लागि भन्दा रुपन्देहीबाट २० जना स्वयंसेवकको टोली पठाएको जनाएको छ । 

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले मंसिर ५ गतेदेखि आगामी १७ गतेसम्म निरन्तर सर्वसाधारणका भत्किएका घरटहरा निर्माणका लागि २० जना स्वयंसेवकको टोली पठाएको बताए । अध्यक्ष केसीले भूकम्पप्रभावित क्षेत्रमा काम गर्न आवश्यक पर्ने गैंती, बेल्चा, हाते आरा, हथौडा, खुर्पा लगायतका औजार तथा स्वयंसेवकहरुको सुरक्षाको लागि ज्याकेट, पञ्जा, हेलमेट लगायतका आवश्यक सामग्री र खानेबस्ने खर्च समेतको व्यवस्था गरी पठाइएको जानकारी दिए । अध्यक्ष केसीले यसअघि २०७२ सालको भूकम्पबाट ध्वस्त बनेका संरचनाको पूनर्निर्माणको लागि समेत स्वयंसेवक खटाइएको उल्लेख गर्दै अहिले पनि त्यति बेला काममा खटिएका अनुभवी स्वयंसेवकहरुलाई पठाइएको जानकारी दिए । 

विगतमा जस्तै यसपटक पनि भूकम्पप्रभावित क्षेत्रका बासिन्दाको घाउमा मल्हम लगाउने गरी अनुशासित भएर काम गरेर फर्किन निर्देशन दिए । एमालेले यसअघि नै भूकम्प प्रभावित क्षेत्रमा १ हजार १ सय जना स्वयंसेवक परिचालन गरिसकेको जनाएको छ । स्वयंसेवकहरुले भूकम्पले भत्काएका घरभित्रका सामानहरु निकाल्ने, भग्नावशेष पन्छाउने र जमिन सम्याएर अस्थायी घरटहरा बनाउने काम सुरु गरेका छन् । 

पार्टी केन्द्रको तर्फबाट १ हजार र प्रदेशका एकसय गरी १ हजार १ सय स्वयंसेवक भूकम्पप्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा खटिएको रुपन्देही अध्यक्ष केसीले जानकारी दिए । 

जाजरकोटमा ७ सय र रुकुमपश्चिममा ४ सय स्वयंसेवक परिचालन भएका छन् । एमालेका जनसंगठनहरु नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरुको टोलीलाई २८ वटा समूहमा विभाजन गरी मंसिर १ गतेदेखि नै खटाइएको एमाले पोलिटब्यूरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

एमालेले २०७२ सालको भूकम्पमा पनि स्वयंसेवक परिचालन गरी २७ हजार २ सय ७६ अस्थायी घरटहरा र १ हजार ३ सय भन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।