
बिहिवार , कार्तिक २३, २०८०
भैरहवा, २३ कार्तिक ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अधिकार नदिने अनि प्रदेश सरकारले गर्न सकेन पनि भन्ने भन्दै प्रश्न गरेका छन् । उनले लामो संघर्षपछि यो राष्ट्रमा संघीयताको माध्यमबाट प्रदेशसभा स्थापना भएको बताए ।
राष्ट्रिय योजना आयोग सिंहदरबार, काठमाडौंले बिहीबार लुम्बिनीमा आयोजना गरेको योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले लामो समयदेखि यो राष्ट्रमा केन्द्र र स्थानीय सरकारलाई जनताले देखेको बताए । उनले भने, ‘प्रदेशसभामा ४०/४२ अर्बको बजेट छ । अधिकार पनि नदिने अनि हामी भन्छौं प्रदेश सरकारले काम गर्न सकेन । विकास गर्न सरकार तयार छ । नीति पनि बनाएको छ । जनताले विश्वास गरेको छ । प्रदेश सरकार आएको छ, यसले केही अलग ढंगले गर्ला । तर, त्यो पनि सम्भव भइरहेको छैन । ’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले यथार्थ कुरा सही ठाउँमा राख्न सके मात्र राष्ट्रमा बनेका योजनाहरु कार्यान्वयन गर्न सकिने बताए । उनले भने, ‘यहाँहरुले प्रदेशलाई बलियो बनाउनुपर्छ भन्नुभएको छ, यो सकारात्मक कुरा हो, तर केन्द्रमा गएर केन्द्र बलियो बनाउनुपर्छ भन्ने र ठाउँअनुसार कुरा गर्ने परिपाटी छ ।’
उनले रेमिट्यान्सलाई व्यवस्थित ढंगले उपयोग गर्न नसकिएको र कुनै उत्पादनमूलक काममा लगाउन नसकिएको बताए । उनले भने, ‘हामी रेमिट्यान्समा आश्रित छौं, रेमिट्यान्स आउँछ र हामी खान्छौं, रमाउँछौं भन्ने छ । हामी परनिर्भर भएका छौं । अब परनिर्भरता त्यागौं भन्ने मेरो आग्रह छ ।’
लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने र त्यसको बजार व्यवस्थापन गर्दै त्यसको माध्यमले प्रदेशका दुई लाख युवा रोजगारी दिने गरी सरकार अगाडि बढेको उनको भनाइ छ । यसमा मुख्यमन्त्रीले पनि विशेष चासो राख्नुभएको मन्त्री पाण्डेयले बताए ।
उनले नकारात्मक सोच त्यागेर सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘अब ५० वर्षको योजना बनाउनुपर्छ, आफ्नो योगदान इमान्दारिताका साथ गर्न काम सक्यौं भने निश्चित रुपमा परिवर्तन आउनेछ । ’कोरोना महामारीका कारण विश्वमै आर्थिक मन्दी आएको मन्त्री पाण्डेयले बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा राष्ट्रिय योजना आयोगले कार्यक्रम आयोजना गरेको भन्दै उनले धन्यवाद दिए ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत भएको कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij