
शनिवार , कार्तिक १८, २०८०
भैरहवा, १८ कार्तिक ।
श्रीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, रुपन्देहीको १५ औं वार्षिक साधारणसभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर कार्यक्षेत्र बनाएको संस्थाको साधारणसभा शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहकारीको प्रभावकारी अनुगमन गर्नुपर्ने बताए । उनले विषय विज्ञको समूह बनाएर नगरपालिकाभित्रका सहकारीको नियमन गर्नुपर्ने बताए । खनालले श्रीनगर सहकारीले आगामी दिनमा अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै श्रीनगर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कुल प्रसाद न्यौपानेले हाल संस्थामा १२६ जना शेयर सदस्य रहेको र सहकार्य सहकारीको सिद्वान्तलाई अंगिकार गरी अगाडि बढेको बताए ।
संस्थाका कोषाध्यक्ष बाबुराम काफ्लेले सहकारीले करिब ७५ लाख शेयर पूँजी र सोही हाराहारीमा बचत संकलन गरी ऋण लगानी गरी केही रकम बचत गर्न सफल भएको बताए । उनले सहकारीले लगानीमा ५ प्रतिशत मुनाफा बाड्न सफल भएको बताए ।
संस्थाका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षता, उपाध्यक्ष आनन्द खनालको स्वागत तथा सचिव विजय जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने संस्थाका शेयर सदस्यका छोराछोरीलाई नगद रु. २ हजार ५ सयसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा विद्यार्थीहरु स्वीकृति आचार्य र अभिषेक गैर रहेको सहकारीका उपाध्यक्ष आनन्द खनालले जानकारी दिए । कार्यक्रममा पत्रकार मनोरञ्जन शर्माको उपचारको लागि रु. ११ हजार आर्थिक सहयोग गरिएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij