२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

अभिभावक गुमाएका १३ जना विद्यार्थीलाई छात्रवृति प्रदान

सोमवार , कार्तिक ६, २०८०

भैरहवा, ६ कार्तिक । 
रोजगारीको सिलसिलामा अभिभावक गुमाएका १३ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृति प्रदान गरिएकोे छ । कक्षा २ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई ४ लाख ५० हजार बराबरको छात्रवृति दिइएको हो । रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित फ्युचर लाइट इङलिस हाई स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई डिबी ल्होगे फाउण्डेशनको सहकार्यमा पूर्ण छात्रवृति प्रदान गरिएको हो ।

अभिभावक रोजगारीको सिलसिलामा देशबाहिर भई ज्यान गुमाएपछि पनि विद्यालयले अभिभावकत्व लिनुपर्छ भन्दै त्यस्ता १३ जना विद्यार्थीलाई माइग्रेन्ट स्कलर्शसीप (पूर्ण छात्रवृति) सहित शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयका प्रिन्सिपल गम्भिर गुरुङले बताए । ‘स्थानीय क्षेत्रलाई प्राथमिकता दिदै मायादेवी–८, सिद्धार्थनगर–८ र सियारी गाउँपालिकामा केन्द्रित गरेर यो कार्यक्रम लागू गरिएको छ । हामीले १० प्रतिसत छात्रवृतिको अलावा यो छात्रवृति दिदै आएका छौं, ’गुरुङले भने ।

बालबालिकाको पालनपोषण र परिवार पाल्नका लागि नै बाध्यताले नेपालीहरु बाहिर गएका छन, परिवारको खुशीका लागि पसिना बगाउन बाहिरिएका नेपाली कुनै कारणले देश नफर्किएको अवस्थामा त्यस्ता परिवारका बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्नका लागि अहिले तेस्रो वर्ष पूर्ण छात्रवृति प्रदान गरिएको छ, विद्यालयकी सञ्चालक सन्ध्या गुरुङले भनिन् । 
‘पहिलो वर्ष हामीले ६ जना विद्यार्थीलाई यो छात्रवृति प्रदान गरेका थियौं, त्यस्तै दोस्रो वर्ष ११ जना र अहिले निरन्तरता दिदै १३ जना भएका छन् यो छात्रवृति निरन्तर रहनेछ, ’उनले भनिन ।

‘रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका, अंगभंग भएका र अशक्त बिरामी भएर फर्किएका श्रमिकका सन्तानलाई विद्यालयले छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाम्रो परिवार पनि माइग्रेन्ट भएकोले पृतलाई सम्झिनका लागि केही सम्मान गर्नुपर्छ भनेर वार्षिक कार्यक्रमको योजना नै बनाइएको छ, ’प्रिन्सिपल गुरुङले भने । मायादेवी–८ का वडाध्यक्ष चोक बहादुर थापाको आतिथ्यतामा छात्रवृति प्रदान गरिएको हो ।