२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

व्यवसायी भन्छन्–भारतबाट अवैध रुपमा मदिरा भित्रिदा हामी मर्कामा पर्‍यौं

बुधवार , कार्तिक १, २०८०

भैरहवा, १ कार्तिक ।
खुल्ला सीमाका कारण अवैध रुपमा भित्रिने मदिराका कारण आफूहरु मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । भारतबाट अवैध रुपमा नेपाल भित्रिने मदिराका कारण नेपालका मदिरा व्यवसायी मर्कामा परेको व्यवसायीहरुको गुनासो छ ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले बडादशैं, तिहार, छठपर्व तथा नेपाल सम्वतको अवसरमा मंगलबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान, स्वागत तथा बधाई कार्यक्रममा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले आर्थिक मन्दीका कारण व्यवसाय संकटमा परेको बताए । उनले घरेलु मदिराका कारण पनि आफूहरु मर्कामा परेको बताए । उनले मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीलाई संगठित गर्दै व्यवसायीको हकहितमा काम गर्दै आएको बताए ।

त्यस्तै मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हिमालय बस्यालले खुल्ला सीमाका कारण अवैध रुपमा मदिरा भित्रिदा स्वच्छ रुपमा व्यवसाय गर्नेलाई मर्का परेको बताए । उनले घरेलु मदिरा व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने गरेकाले यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले अर्थतन्त्र संकटमा रहेको बताए । उनले बेलाबेलामा सरकारलाई झकझकाइरहेको बताए । 

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले व्यवसायीलाई बैंकले ‘टर्चर’ गरेको बताए । उनले मदिरा व्यवसायी संघ भैरहवाले छोटो समयमा धेरै राम्रो काम गरेको बताए ।

मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले आर्थिक मन्दीको मारमा सबैभन्दा बढी व्यवसायी परेको बताए । उनले घरघरमा मदिरा विक्रीवितरण गर्न नहुने बताए ।

मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरीराज पौडेलले व्यवसायीलाई दुःख दिने कार्य राम्रो नभएको बताए । उनले व्यवसायीले खातापाता दुरुस्त राखेर राज्यलाई सहयोग गर्नुपर्ने बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्रीले संघले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सल्लाहकार ठाकुर कुमार श्रेष्ठले विगतमा मदिरा व्यवसायलाई हेर्ने दृष्टिकोण फरक भए पनि अहिले सम्मानजनक रुपमा हेर्न थालिएको बताए । उनले नियतवश/अन्जानवश कस्तो गल्ती हो त्यसबारे बुझेर व्यवहारिक बन्न सरकारी निकायलाई आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले व्यवसायीलाई सुरक्षा निकायको तर्फबाट साथ दिने बताए । उनले भने, व्यापारमा प्रगति होस्, विदेश पलायनको स्थिति नआओस् र विदेशबाट नेपालमा काम गर्न आउने वातावरण बनोस् ।

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. भैरहवा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपक कुमार थापाले सबैको कथा–व्यथा रहेको बताए । उनले अवैध गतिविधिको कारण खुल्ला सीमा मात्र नरहेको बताए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले नक्कली मदिरा बनाउने व्यक्तिलाई कारवाहीको दायरामा ल्याइएको र यसले पनि गलत कार्य गर्नेलाई निरुत्साहित गर्ने बताए । उनले कार्यालयलाई सूचना दिएर सहयोग गर्न आग्रह गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हरेक व्यवसायमा अवसर र चुनौति रहेको बताए । उनले व्यवसायीको शुद्धीकरण आवश्यक रहेको र व्यवसायीका जायज माग सम्बोधन गर्न प्रशासन तयार रहेको बताए । उनले भने, ‘गलत गर्दा डराउनुपर्छ, जायज कामका लागि डराउनुपर्दैन ।’ उनले मुलुकको राजस्वमा मदिरा व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–८ का वडाअध्यक्ष राजनजंग राणा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष रामप्रसाद पोख्रेल, गुल्मेली सम्पर्क समाज सिद्धार्थनगरका निवर्तमान अध्यक्ष लक्ष्मण ज्ञवालीलगायतले आफ्नो मन्तव्य राख्नुभएको कार्यक्रम संयोजक सुन्दर भण्डारीले बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यता, मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।