
बुधवार , कार्तिक १, २०८०
सुर्खेत, १ कात्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कार्य प्रगति सार्वजनिक गरेका छन् । त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शर्माले चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म प्रदेश सरकारले गरेका गतिविधिहरु सार्वजनिक गरेका हुन् ।
कार्य प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शर्माले न्यून बजेट र जनशक्तिको अभावका बिच प्रदेश सरकारले कर्णालीका जनताहरुको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभुतिमा अहोरात्र खटिरहेको जिकिर गरेका छन ।
चालु आर्थिक वर्षको नीति तथा बजेट निर्माण र स्वीकृति भइ कार्यान्वयनको चरमा रहेको, लगानी सम्मेलनको तयारी भइरहेको, आफ्नो स्वीजरल्याण्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीका लागि छलफल भइरहेको, विभिन्न खाले प्राकृतिक विपदमा परी क्षति पुगेका कृषकहरुलाई ६ करोड राहत उपलब्ध गराउन गरिएको निर्णयलाई मुख्यमन्त्री शर्माले आफ्ना प्रमुख उपलब्धीमा राखेका छन् ।
यस्तै, यस अवधिमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएको, तीनवटा सभामा दर्ता भई विषयगत समितिमा छलफल भइरहेको तथा ९ वटा विधेयकको मस्यौदा निर्माण गर्ने कार्य भइरहेको मुख्यमन्त्री शर्माले बताए ।
प्रदेश सरकारले लिएको समृद्ध कर्णाली सुखारी कर्णालीबासीको उद्देश्य पुरा गरी सरकारलाई जनउत्तरदायी बनाउनका लागि प्रदेश सरकारले सम्पादन गरेका कार्यहरुलाई मुख्यमन्त्री शर्माले ४४ बुँदामा समावेश गरेर कार्य प्रगति सार्वजनिक गरेका छन् ।
त्यस्तै कर्णाली प्रदेश सरकारले साउन देखि असोजसम्म १० वटा नियावली निर्माण गरिएको बताएको छ । तीनवटा मापदण्ड निर्माण गरिएको छ । मापदण्डहरुमा प्रदेश नमूना कार्यालय छनोट मापदण्ड निर्माण, झोलुंगे पुल रणनीति मस्यौदा तर्जुमा , बालविवाहविरुद्ध प्रदेश रणनीति मस्यौदा निर्माण भएको जानकारी गराएको छ । ९ वटा कार्यविधि निर्माण गरिएको छ ।
३६० जना सहायक स्तरका कर्मचारी नियुक्त गरिएको पनि उपलब्धीका रुपमा गणना गरिएको छ । नेपाल प्रहरीको विशेष सुरक्षा गण नेपालगन्जबाट सुर्खेत पारिएकोलाई पनि प्रगतिमा राखिएको छ । १३२ केभी प्रशारण लाइन निर्माण गर्नका लागि पहल गरिएको बताएको छ । कोहलपुर–सुर्खेत खण्डमा १३२ केभी प्रशारण लाइन विद्युत आपूर्ति तथा गुणस्तर निर्माण गरिएको पनि उपलब्धीमा राखिएको छ ।
समपुरक आयोजनातर्फ हुम्लाको खार्पु सिमीकोट (मानसरोवर प्रवेशद्धार) नमूना एकीकृत पूर्वाधार विकास कार्यक्रम र डोल्पाको रिग्बो बस्ती विकास कार्यक्रम अगाडी बढाएको समेत बताएको छ । कर्णाली प्रदेशको भू–उपयोग नीति जोखिम संवेदनशिल भू–उपयोग योजना निर्देशिका तयार भएको बताएको छ । कोदोजन्य बालीहरुको संरक्षणका लागि नीतिगत व्यवस्था गरिएको भन्दै प्रगति सार्वजनिक गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij