
बुधवार , कार्तिक १, २०८०
सिरहा, १ कार्तिक ।
अन्य समय भन्दा बढी दशैमा बढी मुल्यमा विक्री हुने खसी–बोकाको मूल्य आर्थिक मन्दीका कारण घटेपछि किसानहरु मर्कामा परेका छन् । अत्याधिक मात्रामा मासुको खपत हुने दशैंमा नै आर्थिक मन्दीका कारण तराई–मधेशका बजारहरुमा खसी–बोका खरिद विक्री कम भएकाले मूल्य सस्तो भएपछि किसानहरु चिन्तित बनेका हुन् ।
सिरहाको धनगढीमाई– १३ का किसान शुक्रलाल लामाले गोलबजारको मंगलबारे बजारमा विक्रीको ल्याएको बोका अन्य बेला २२–२५ हजारमा विक्री हुने बोका १३ हजारमा विक्री गरेको बताए । उनले भने, ‘अन्य बेला यही बोका २२–२५ हजारमा विक्री हुन्थ्यो, आज त १३ हजार मै विक्री गर्नुपर्यो ।’
बजारमा खरिद गर्नेभन्दा बढी खसी–बोका भएकाले दशैंको मुखमा पनि सस्तोमा बेच्न बाध्य भएको उनले सुनाए । ‘राम्रो मुल्य पाउँला र दशैंको खर्च जोहो गर्न सजिलो भनेर बोका पालेको थिएँ तर भने जस्तो मूल्य पाइन’ उनले भने । दुर्गा पुजामा बोका बलि दिंदै आएका नरहा–५ का बलदेव यादवले यो वर्ष सोचेको भन्दा कम मूल्यमा बोका पाएकोले ठूलै खरिद गरेको बताए । उनले अरु वर्ष १५–१७ हजार पर्ने बोका यो पटक ११ हजार मै खरिद गर्न पाएकोमा खुसी व्यक्त गरेका छन । ‘सधैं महगोमा बोका किन्नुपर्थ्यो, यो पटक भने सोचेको भन्दा धेरै कम मूल्यमा बाका पाएँं,’ उनले भने ।
गोलबजार नपा–६ मा लाग्ने खसी बजारमा अहिल्लो दशैंको बेला प्रत्यक हटिया तीनसय भन्दा बढी खसी बोका विक्री हुने भए पनि यो वर्ष आधाभन्दा कम विक्री भइरहेको बजारका ठेकेदार बीरेन्द्र यादवले बताए । उनले भने, ‘दशैंका बेला हामीलाई खसी बोको पुर्जा बनाउन पनि हम्मे हम्मे पर्थ्यो, हिजो आज हटियामा एकसय बिक्न पनि मुस्किल हुने गरेको छ ।’
दशैंका बेला बजार मूल्य ह्वात्तै बढे पनि खसी बोकाको मूल्य भने स्वात्तै घटेको छ । जसका कारण बाख्रापालक किसान भने मर्कामा परेका छन् । बजार मूल्य बढेका र आर्थिक मन्दीका कारण बजारमा दशैं आएजस्तो चहलपल पनि नदेखिएको स्थानीयले बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij