
शुक्रवार , आश्विन २६, २०८०
बुटवल, २६ असोज ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिनप्रतिदिन धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई चलायमान बनाउन भरोसापूर्ण कदम चाल्नुपर्ने जरुरी रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले शुक्रवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले देशलाई आर्थिक सबलीकरणमा लैजान लगानी सम्मेलन गर्नुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समय देशमा दक्ष जनशक्तिहरु बाहिरिदै जानु राज्यका लागि गम्भिर कुरा भएको उल्लेख गर्दै स्थानीय तहहरुबाट प्रभावकारी काम हुन नसकेको जिकिर गरे । जनतामैत्री, विकास र समृद्धितर्फ देश जान नसकेकाले जनतामा निराशा छाउदै गएकोले त्यसतर्फ सत्ता र प्रतिपक्ष दलले महत्वपूर्ण कदम चाल्नुपर्ने समय आएको उनले बताए । उनले कोशी प्रदेशमा देखिएको समस्या कांग्रेसको आन्तरिक घटनाक्रमले बढेकाले कुनै पार्टीको बहुमत नभएकाले उक्त प्रदेशमा राजनितीक किचलो बढ्दै स्पष्ट पारे ।
उनले प्रदेशको समस्यालाई समाधान गर्न जटिल परिस्थितिमा प्रदेश प्रमुखले कानूनी परामर्श र कानून बमोजिम निकास दिनुपर्ने बताउँदै प्रदेशको समस्या मुख्यमन्त्री स्वयंले समाधान गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिन अगाडि बढ्न आग्रह गर्दै प्रदेश सञ्चालन गर्न संघबाट कुनै रोकतोक नभएको दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij