२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

पुर्व प्रधानमन्त्रीद्वयसँग व्यवसायीका गुनासैगुनासा 

आइतवार , आश्विन २१, २०८०

भैरहवा, २१ असोज । 
नेकपा (एकीकृत समाजवादी) को मेची–महाकाली समाजवादी जागरण अभियान अन्र्तगत भैरहवामा आएको टोलीले आइतबार उद्योगी–व्यवसायीसंग भेटघाट तथा छलफल गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाहलमा व्यवसायी र अभियानकर्मीबिच छलफल तथा अन्तक्रिया कार्यक्रम भएको हो  । 

संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमममा हाल विद्यमान अवस्थामा देखिएको आर्थिक मन्दी, उद्योग एवं व्यवसाय धरासायी बन्दै गएको भन्दै सहभागीले गुनासो पोखेका थिए । 

समाजवादी जागरण अभियानमा पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल, महासचिव तथा पूर्वमन्त्री घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, डा.विजय पौडेल लगायतका नेताहरुसँग उद्योगी व्यवसायीले आफ्ना समस्याहरु राखेका थिए । 

संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यस क्षेत्रको गौरव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्नु, उद्योगहरु बन्द हुने अवस्थामा पुग्नु, बैक ब्याजदर, आईपीसी निर्माण कार्य लगायतका बारेमा समाधान गरी पहल गरिदिन आग्रह गरे ।

त्यसै गरी नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले हाल व्यवसायीको अवस्था दर्दनाक रहेकाले समाधानमा पहल गरिदिन आग्रह गरे । अभियानसँग व्यवसायी पनि सँगै हातेमालो गर्न तयार रहेको उनले बताए ।

व्यवसायीका आग्रहलाई पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले विशेष चासो दिने र प्रधानमन्त्री प्रचण्डसँग बसेर समाधानमा लाग्ने बताए । त्यसै गरी अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघका पदाधिकारीले आफुहरुलाई निकै गहन कुराको स्मरण गराएको बताए । उनले समस्या समाधानका लागि सरकारसँग बसेर छफफल गर्ने पनि स्पष्ट पारे । 

कार्यक्रममा अभियानका संयोजक तथा अर्थशास्त्री डा.विजय कुमार पौडेलले हालको अर्थतन्त्र विग्रनुको कारण र समाधान गर्न सकिने कुरामा जोड दिए ।  कार्यक्रममा संघका सचिव मंगल भण्डारीलगायतले बोलेका थिए । संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।