
आइतवार , आश्विन ७, २०८०
भैरहवा, ७ असोज ।
एसिया फ्यासिपिकको महिला समितिको २५ औं वार्षिकोत्सव मनाउन अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको महिला कमिटीको निमन्त्रणामा रुपन्देहीकी ज्ञानु पौड्याल र चितवनकी पार्वती न्यौपाने र जापान पुगेका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको महिला कमिटीको २५ औं वार्षिकउत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालको प्रतिनिधित्व गर्दै उनीहरु जापान पुगेका हुन् ।
पौड्याल रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष हुन् जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एशियाली स्तरको सिल्भर ब्राण्ड प्राप्त गरेको छ । एशियाली ऋण महासंघ (अक्कू) को आयोजनामा काठमाडौंको द होटल सोल्टीमा केही हप्ता पहिले भएको अक्कू फोरम २०२३ को ग्राण्ड ओपनिङ सेरेमोनिका अवसरमा अक्कूका अध्यक्ष योकसुक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोकेले ब्राण्ड प्रदान गरेका थिए ।
न्यौपाने सामाजिक उद्यमी, जिल्ला संघ चितवनकी अध्यक्ष तथा सामाजिक उद्यमी महिला सञ्जाल नेपालकी अध्यक्ष हुन् । जहाँ ३ सय उद्यमीहरु र ४ लाख परिवार प्रत्यक्ष सहकारीमा आबद्ध रहेका बताइएको छ ।
उनीहरुलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले नेपालबाट बिदाई गरेका थिए ।
कार्यक्रम १९ देखि २० सेप्टेम्बरसम्म जापानिज उपभोक्ता सहकारी संघ (जेसीसीयू) को संयोजनमा टोकियोमा सम्पन्न भएको छ। कार्यक्रमको मुख्य थिम उज्वल भविश्यका लागि लैंगिक समानता रहेको थियो । आइसिए एपीमा १९९८ देखि महिला कमिटी स्थापना भएको हो । त्यस समयदेखि नै एसिया प्रशान्त क्षेत्रको सहकारीमा लैंगिक समावेशीकरण र समानतालाई प्रवद्र्धन गर्दै आइरहेको छ ।
कार्यक्रममा महासंघको प्रतिनिधित्व गर्दै ज्ञानु पौड्यालले नेपालको तर्फबाट निर्णय लिने टेबलमा महिलाको विषयमा सहकारीमा महिलाको नेतृत्व, महिला समानता, महिला सशक्तिकरण, महिलाको सहभागीता र नेतृत्व तहमा भएको सफल अभ्यास सुझावसहित प्रस्तुतीकरण गरेकी थिइन् ।
सो कार्यक्रममा ६ वटा विषयगत प्रस्तुती ६ वटा मुलुकबाट गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागी एवं आयोजकले नेपालको सहकारी सञ्चालकमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितता गर्ने प्रावधान रहेकोमा प्रशंसा गरिएको थियो ।
त्यस्तै नेतृत्वमा अझै पनि महिला पुग्नको लागि चुनौतीबारे पनि चर्चा भएको थियो । नेतृत्वमा महिला, दिगो विकास लक्ष्यको उद्देश्य ५ प्राप्ति र महिला हिंसा न्यूनीकरणमा सहकारीले महत्वपूर्ण भुमिका रहेकोले आगामी रणनीति सहित कार्य गर्न सबैले योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरु सेप्टेम्बर २५ तारिख नेपाल फर्कने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij