
मंगलवार , आश्विन २, २०८०
काठमाडौं, २ असोज ।
वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोज १ गतेबाट लागू हुने गरी २१ वटा वाणिज्य बैंकहरूमध्ये १७ वटाले बैंकले नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएर सूचना प्रकाशित गरेका छन् ।
असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंक छन् । यी बैंकहरूले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याजदर घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
असोज महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो । भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।
भदौ महिनामा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो । यस्तै, सिटिजन बैंकले पनि भदौ महिनाको तुलनामा ०.८४६ प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले असोजमा व्यक्तिगततर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।
कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत प्रतिशत ब्याजदर कायम गरेको छ । जुन भदौ महिनाको तुलनामा ०.७८६ प्रतिशत कम हो । भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।
त्यसै गरी राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याँजदर तोकेको छ । यो भदौ महिनाको तुलनामा ०.४९ प्रतिशत कम हो । बैंकले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याज दिएको थियो ।
लक्ष्मी सनराइजले पनि नयाँ ब्याजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याँजदर तोकेको छ । बैंकले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । भदौ महिनामा बैंकले व्यक्तिगततर्फ १०.४ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर दिएको थियो ।
त्यसै गरी, ग्लोबल आइएमई बैंकले पनि भदौ महिनाको तुलनामा ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij