२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

को बन्ला उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्ष ?

चारजनाको नाम चर्चामा

बिहिवार , भाद्र २८, २०८०

भैरहवा, २८ भदौ ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आसन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । संगठनको आगामी असोज ६ गते शनिबार हुने १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

संगठनको भावी नेतृत्वका लागि पदाधिकारी र सदस्यहरुमा केही व्यवसायीहरुले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष पदका लागि चारजनाको नाम चर्चामा रहेको छ ।

संस्थाका वर्तमान सल्लाहकार सुरेन्द्र बस्याल, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, वाणिज्य उपाध्यक्ष कृष्ण बहादुर गुरुङ र महासचिव सचिन रोक्काले अध्यक्ष पदमा उम्मेदवारी दिने गरी तयारी गरिरहेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा राममिलन यादव र केशवराज ज्ञवाली, उद्योग उपाध्यक्षमा मधुसुदन अर्याल र लक्ष्मण भण्डारी, वाणिज्य उपाध्यक्षमा टीकाराम भट्टराई र माया खनाल, महासचिवमा गणेश बेल्वासे र लक्ष्मी अधिकारी, कोषाध्यक्षमा सुरेन्द्र पाण्डेय र गौतम कुमार गुप्ता, सचिव (दुई पद) मा विन्दु न्यौपाने, पिताम्बर न्यौपाने, कृष्ण प्रसाद पाण्डे र धिरज कुमार मल्लिक र सह–कोषाध्यक्षमा सन्तोष शुक्ला र रामप्रसाद सापकोटाले आकांक्षा देखाएको बुझिएको छ ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले आगामी अधिवेशनका लागि विभिन्न पदमा आकांक्षीहरु देखिएको बताए । उनले आकांक्षी धेरै देखिएको हुँदा सहमतिमा टुंगाउने प्रयास गरिने जानकारी दिए । उनले भने– ‘सहमतिका लागि अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्वअध्यक्ष र सल्लाहकारहरुसहितको ७ जनाको समिति बनाएर आकांक्षीलाई सहमतिमा ल्याउने प्रक्रियामा रहेका छौं ।’

२०६३ सालमा स्थापना भएको उद्योग व्यापार संगठन, रुपन्देहीको नेतृत्व मनिष कुमार जोशी, खिम बहादुर खत्री र नारायण प्रसाद भण्डारीले गरिसकेका छन् । हाल संगठनको नेतृत्व (अध्यक्ष)को जिम्मेवारी अनिल कुमार ज्ञवालीले सम्हालिरहेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित उदयपुरमा संगठनको आफ्नै कार्यालय भवन छ ।

संगठनको निर्वाचन कार्यतालिका पनि सार्वजनिक भएको छ । 

378872184_214837838251594_5486103093940945491_n.jpg