२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

उद्योग व्यवसायी महासंघले जिल्ला प्रशासन र राष्ट्र बैंकमा बुझायो ज्ञापनपत्र

मंगलवार , भाद्र १२, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • रुपन्देही, १२ भदौ ।
    नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले उद्योगी व्यवसायीका समस्या समाधानको माग गर्दै मंगलबार संयुक्त रुपमा नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

    महासंघले राज्यले रोजगारी सिर्जना गर्ने तथा कर तिर्ने व्यवसायीहरुलाई संरक्षण गर्नुको साटो विभिन्न अभियोग लगाई धरपकड गर्ने, अनुसन्धानका नाममा हिरासतमा लिने जस्ता कार्य गरेर व्यवसायिक वातावरण खलबल्याउने काम गरेको भन्दै त्यस्तो कार्य रोकी व्यावसायिक सुरक्षाको माग गरेको छ ।

    नेपाल राष्ट्र बैंकले आन्तरिक अर्थतन्त्रलाई चलायमान गराउने गरी नीतिहरु परिवर्तन गर्नुपर्नेमा सुक्ष्म तरिकाले नियन्त्रण गरी धरासायी बनाउन खोजेको भन्दै ज्ञापनपत्रमा चालू पुँजी कर्जा निर्देशकामा पुनर्विचार गर्न र बैंकको ब्याजदर घटाउन माग गरिएको छ ।

    शेयर बजारमा लगाउँदै आएको १२ करोडको कर्जा सीमाको नीति खारेज र यस्तो कर्जाको जोखिम भार १०० नै कायम गरी अर्थतन्त्र चलायमान बनाउन  पनि उद्योग व्यवसायी महासंघले माग गरेको छ ।

    वर्तमान अवस्थामा सहकारी क्षेत्रलाई उद्दार गर्न आवश्यक संरक्षणको कार्ययोजनासहित ठोस कार्य गरी अर्थतन्त्र चलायमान बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

    वित्तीय चेतना र सेवा विस्तारमा लघुवित्तले पुर्याएको योगदानको कदर गर्दै सरकार र राष्ट्र बैंकले लघुवित्तीय संस्थाहरुलाई अझै व्यवस्थित रुपमा सञ्चालन गर्न दीर्घकालीन नीति ल्याउनुपर्ने माग गरिएको छ । निर्माण व्यवसायीको मागको सम्बोधन गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

    सम्बन्धित पक्षसँग बिना परामर्श हवाई टककटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने नीति ल्याएको भन्दै अदालतले दिएको आदेशलाई समेत मध्यनजर गर्दै नयाँ व्यवस्था गर्न महासंघले आग्रह गरेको छ ।

    सोही अवसरमा बोल्दै प्रदेश कमिटी अध्यक्ष माधव नेपालले  व्यवसायीका उचित माग सम्बोधन नभएको खण्डमा चरणबद्ध आन्दोलनमा जान व्यवसायीहरु बाध्य हुने बताए । जिल्ला कमिटी अध्यक्ष माधव रेग्मीले व्यवसायीका माग सम्बोधन गर्नुको विकल्प नरहेको बताए । 

    370256516_1263008208431075_4714105684355029228_n.jpg

    ज्ञापनपत्र बुझाउन महासंघ लुमिबनी प्रदेश कमिटी उपाध्यक्ष भाष्कर काफ्ले, सचिव केशवराज पन्थी, रुपन्देही जिल्ला उपाध्यक्ष शारदा भट्टराई रेग्मी, सचिव पुरुषोत्तम अर्याल, केन्द्रीय सदस्य सागर अधिकारी, बुटवल उपमहानगर कमिटी अध्यक्ष माधव खनाल, मोहनलाल पाण्डे, इशु देवकोटा, केशव ज्ञवाली, मदन प्रसाद पौडेललगायतका व्यवसायी समेत पुगेका थिए ।