२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सीमा सुरक्षा डण्डाद्वारा ५ महिनामा ४ करोड बढीको अवैध सामान बरामद

शनिवार , भाद्र ९, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ९ भदौ । 
    सशस्त्र प्रहरी बल नेपाल, (प्रस्तावित सीमा सुरक्षा गुल्म) डण्डा, रुपन्देहीले गुल्म भएपछि ४ करोड १ लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ ।  सीमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै रुपन्देही जिल्लाअन्तर्गत ७० किलोमिटर अन्तर्राष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाको शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलनमा भैरहवा भन्सार कार्यालय तथा लुम्बिनी छोटी भन्सार कार्यालयलाई सपोर्ट गर्न डण्डा गुल्म तथा अन्तर्गतका पाँच वटा विओपी परिचालित छन् ।

    चैतदेखि साउन महिनाको दौरान यस युनिटअन्तर्गत ४ करोड १ लाख २५ हजार ९ सय १४ रुपैयाँ बराबरको अवैध मालवस्तु बरामद गरेको हो । सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले सीमा सुरक्षालाई थप मजबुद तथा चोरी तस्करी नियन्त्रण एवम् राजश्व संकलन कार्यलाई प्रभावकारी बनाउन गुल्मको प्रस्ताव ल्याएका थिए ।
    दक्षिणी सीमामा रहेका २५१ मध्ये ४५ वटा बोर्डर आउट पोष्ट विओपीलाई स्तर उन्नति गरी डीएसपीको कमाण्डमा प्रस्तावित सीमा सुरक्षा गुल्म बनाउन नेपाल सरकार समक्ष प्रस्तावसँगै रुपन्देहीमा रहेको डण्डा विओपी प्रस्तावित सीमा सुरक्षा गुल्ममा स्तरउन्नति भएको थियो ।

    गुल्मको पहिलो गुल्मपतिका रुपमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अरुण शर्माले कमाण्ड सम्हाले लगत्तै छोटो अवधिमै सशस्त्रले राज्यको ढुकुटी एवं राजश्वमा ठूलो योगदान गरेको छ । गुल्मले ‘इमान्दार सशस्त्र प्रहरी सेवा तथा तस्करी नियन्त्रण अभियान’ सञ्चालन गरेसँगै एकल तथा भन्सारसँग संयुक्त रूपमा २०७९ चैत १३ देखि हालसम्म तस्करीमा संलग्न तथा सशस्त्र प्रहरीको काममा बाधा पुर्याउने २५ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।

    खासै व्यक्तिलाई नियन्त्रणमा नलिएको सुरक्षा निकायले योपटक भने सक्रियताका साथ संलग्नलाई पनि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ । डण्डा इलाकामा तस्करीमा संलग्न १७ जना व्यक्तिलाई सम्झाई बुझाई गरी तस्करी पेशा छोडाएको तथा सम्झाईबुझाई गर्दासमेत सुरक्षाकर्मीको आँखा छली तस्करी गर्ने २ जनाविरुद्ध भैरहवा भन्सार कार्यालयमार्फत वारेन्ट जारीसमेत भएको गुल्मपति शर्माले बताए ।

    ४ करोड बढीको राजश्वमा योगदान पुर्याएको डण्डा गुल्मले अन्तर्गतका बोर्डर आउट पोष्टबाहेक आफै डेढ करोड भन्दा बढीको अवैध मालवस्तु यस अवधिमा भन्सार दाखिला गरेको छ । त्यसै गरी अवैध मालस्तु ढुवानीमा प्रयोग भएका ९ थान मोटरसाइकल, १ थान स्कुटर, ८ थान साइकल, २ थान अटोरिक्सा, १ थान बस र १ थान ट्रकसमेत बरामद गरी भैरहवा भन्सार कार्यालयमा दाखिला गरेको गुल्मले जानकारी दिएको छ । यसका साथै ९ लाख ८० हजार ७ सय पचास मूल्य बराबरको अवैध कुखुरा तथा माछा बरामद गरी पशु क्वारेन्टाईनको रोहवरमा नष्ट गरिएको समेत डण्डा गुल्मले जानकारी दिएको छ ।

    उद्योग वाणिज्य संघको अनुरोध र भैरहवा भन्सार कार्यालयले लागू गरेको सय रुपैयाँ भन्दा माथिका मालवस्तुमा भन्सार लाग्ने व्यवस्थालाई कार्यान्वयन गर्न डण्डा गुल्मले नेतृत्वदायी एवं विशेष भूमिका निर्वाह गरेको छ । भारतीय सीमावर्ती ईलाकामा लाग्ने फरेनिया हाटबजारका कारण आफूको व्यापार चौपट भएकाले नेपाली ग्राहकलाई उक्त बजार जान रोक्न जिल्ला राजश्व चुहावट नियन्त्रण समितिको निर्णय अनुरुप काम गर्दै आएको छ ।

    गुल्ममा स्तरउन्नति भई प्रस्तावित सीमा सुरक्षा गुल्म भएसँगै छोटो अवधिमा डण्डा इलाकामा तस्करीमा संलग्न व्यक्तिहरु ठूलो मात्रामा कानुनी कारवाहीको दायरामा आएको, कयौं व्यक्ति पलायन भएको दावी गुल्मले गरेको छ ।