२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

फोहोरमैला व्यवस्थापनमा पालिकालाई सघाउन सांसद् घिमिरेको आग्रह

बिहिवार , भाद्र ७, २०८०

काठमाडौं, ७ भदौ । 
प्रतिनिधि सभा सदस्य (सांसद्) बासुदेव घिमिरेले फोहोरमैला व्यवस्थापन गर्ने ठाउँको व्यवस्थापनमा स्थानीय सरकारलाई यथोचित सहयोग र नीतिगत निर्णय गर्ने कार्यमा तदारुगता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको बिहीबारको बैठकमा बोल्दै सांसद घिमिरेले कतिपय पालिकाहरुले फोहोरमैला संकलनमा प्रभावकारी काम गरे पनि त्यसको व्यवस्थापन कार्यमा सधैं उल्झन खेपिरहनु परेको उल्लेख गरे ।

‘फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ नपाउँदा धेरैजसो पालिकाहरुलाई यो सधैंको टाउको दुःखाइको विषय बनिरहेको छ । फोहोरमैला व्यवस्थापनलाई स्थानीय सरकारको जिम्मेवारी मात्र ठानेर यो विषयमा संघीय र प्रदेश सरकार मुखदर्शक भएर बस्न मिल्दैन,’ उनले भने । स्थानीय सरकारले संघ तथा प्रदेशसँगको सहकार्यमा वन, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी कार्य गर्ने कानूनी व्यवस्था छ ।

नेपालको संविधानले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको बताउँदै सांसद् घिमिरेले फोहोरमैला व्यवस्थापन; स्वच्छ र स्वस्थ वातावरण निर्माणको अनिवार्य शर्त रहेकोसमेत उल्लेख गरे ।

घिमिरे नेकपा (एमाले) को तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् हुन् ।