
आइतवार , भाद्र ३, २०८०
भैरहवा, ३ भदौ ।
रुपन्देहीको ठुटीपिपलमा अवस्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारीका सदस्यले लुम्बिनी विशिष्टकृत सहकारी संघको परियोजनामा लगानी गर्न पाउने भएका छन् । सहकारीहरुको लगानीमा विशिष्टीकृत सहकारी संघ रुपन्देहीमार्फत निर्माणधीन दुग्ध प्रसोधन परियोजनामा सहकारी संस्थाहरुले मात्रै लगानी गर्ने भए पनि टुगा आस्थाले वित्तिय सेयरसम्बन्धी कार्यविधि २०८० तयार गरी संस्थामार्फत सदस्यहरुलाई लगानी गर्ने व्यवस्था मिलाएको हो ।
राष्ट्रिय गौरबको आयोजनाको रुप लिएको यूएचटी दुग्ध प्रशोधन परियोजनामा सदस्यलाई सहकारी अभियानसँगै उत्पादनशील अभियानमा हातेमालो गराउन, सेयर लगानीको साक्षरता बढाउन र सदस्यहरु पनि परियोजनाकाट लाभान्वित हुन भन्ने उद्देश्यका साथ संचालक समितिको प्रयास कार्यविधि बनाई ५ लाख सम्म लगानी गर्न सकिने टुगा आस्था साकोसका अध्यक्ष डी.बी. थापाले बताए ।
उत्पादन क्षेत्रमा सदस्यहरुलाइ जोड्न सस्थाको संचालक समितिले लगानी कार्यविधि निर्माण गरी सोबारे पहिलो चरणमा संचालक, लेखा, सल्लाहकार, उपसमिति, सेवा केन्द्र उपसमिति, टोलप्रमुख पदाधिकारी नेतृत्वलाई लक्षित गरी अभिमुखीकरण गराएको छ ।
सहकारीहरुको लगानीमा दुग्धको प्रशोधन गरी विभिन्न पदार्थहरु बनाउने लक्ष्यका साथ तिलोत्तमाको पहुनीमा परियोजना निर्माणको क्रममा छ । प्रदेशस्तरीय परियोजनाको उत्पादन असोजमा सुरु गर्ने लक्ष्यका साथ निर्माणको काम जारी रहेको छ । २ चरणमा सम्पन्न हुने परियोजनाको पहिलो चरणको काम दुधका विभिन्न उत्पादनहरु रहेको छ भने यो सम्पन्न भए पछि दुधको आयु लामो समय सम्म बढाउन सकिने युएचटी प्रविधि दोस्रो चरणमा परियोजनाले भित्र्याउनेछ ।
परियोजनाबारे लुम्बिनी विशिष्टकृत सहकारी संघका अध्यक्ष खगराज शर्माले सदस्यहरुलाई दुग्ध प्रसोधन परियोजनाबारे जानकारी र सम्भावनाबारे अभिमुखीकरण गर्दै ५ वर्षमा लगानी उठ्ने विश्वास र लक्ष्यका साथ परियोजना अगाडि बढिरहेको बताए । हामीले सुरुमा दुधका उत्पादन र दुधको प्रसोधनको काम गरेपनि विस्तारै पशुफर्म, रिसर्च सेन्टर, उन्नत जातको गर्भधान पशुको आहारा जस्ता कृषिसँग सम्बन्धित अन्यको पनि परिकल्पना गरेको बताए ।
आस्था विकास संस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापाले सहकारीको कार्यविधी बारे जानकारी गराउदै व्यक्तिले संस्था मार्फत एक सदस्यले १ हजार देखि ५ लाख सम्म लगानी गर्न पाउने व्यवस्था रहेको बताए । उनले परियोजनाले दिएको लाभांश सदस्यले पूर्ण रुपमा पाउने यसमा सहकारीले केही नराख्ने बताए ।
कार्यक्रममा ७९ जना सहभागिहरुबाट २० लाखभन्दा बढी लगानीको लिखित प्रतिबद्धता गर्नुको साथै घरपरिवार, आफन्त सदस्यलाइपनि लगानीको लागि प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै संस्थाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा तथा चार वर्षिय व्यवसायिक रणनीतिक योजनाको तेस्रो आवधिक समीक्षा पनि गरेको छ । संस्थाको असारमसान्तसम्मको कुल ७६ करोड ३ लाखको वासलात रहेको पूंजीमा ७ करोड ६४ लाख सेयर पूंजी, ४६ करोड २७ लाख बचत निक्षेप, ५६ करोड ९५ लाख ऋण लगानी, संस्थागत पूंजी ४ करोड ६३ लाख र स्थिर सम्पत्ति २ करोड रहेको जानकारी दिएको छ ।
लक्ष्यको ८९ प्रतिशत प्रगति हासिल गरेको समिक्षा गर्दै करिब १ करोड ८२ लाख शुद्ध बचत (मुनाफा) गरेको विवरण सहितको प्रस्तुती मुख्य प्रबन्धक थापाले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij