
शुक्रवार , श्रावण २६, २०८०
भैरहवा, २६ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगरको आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर र सचेतना कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा ३१० जना विद्यार्थीहरुको आँखा परीक्षण भएको क्लबले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक–३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स अन्तर्राष्ट्रियको पाँचवटा विधामध्ये आँखा (दृष्टि) पनि पर्ने बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगरले सराहनीय कार्य गरेको बताए । उनले भने, ‘विद्यार्थीहरुले आफूले सिकेका कुरा अरुलाई पनि सिकाउने भएकाले विद्यालयमा गरिएको सचेतना कार्यक्रम अझ प्रभावकारी हुन्छ । ’
उनले लायन्स सिद्धार्थनगरले वर्ष २०२३/२४ अन्तर्गत दोस्रो महिनामा दोस्रो कार्यक्रम गरेको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराम ज्ञवालीले आँखा रोगसम्बन्धी महामारी फैलिएकाले फेला कार्यक्रमका लागि क्लबले विद्यालयलाई छनोट गर्नु सराहनीय रहेको बताए । उनले यसअघि क्लबले विद्यालयलाई पानी टंकी उपलब्ध गराएको स्मरण गरे । उनले भने, ‘यस्ता कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा विश्वस्त छु ।’
कार्यक्रम संयोजक तथा क्लबका द्वितीय उपाध्यक्ष धर्मराज आचार्यले दृष्टि लायन्सको पाँचवटा विधामध्ये पर्ने र आँखासम्बन्धी सचेतना आवश्यक रहेकोले यो कार्यक्रम गरिएको बताए । उनले आँखा शरीरको संवेदनशील अंग भएकाले आँखामा केही समस्या देखिए तुरुन्त चेकजाँच गराउनुपर्ने बताए ।
लायन्स सिद्धार्थनगर वर्ष २०२३/२४ का अध्यक्ष रवि कुमार श्रेष्ठको अध्यक्षता, लायन्स इन्टरनेशनल डिष्ट्रिक–३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक धर्मराज आचार्यको स्वागत, विनोद मिश्रको ध्वजा अभिवादन तथा लायन्स सिद्धार्थनगरका सचिव कुलचन्द्र गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा एरिया चिफ सतिश कुमार कौशल (दीपक), राजेश खरेल, विद्यालयका प्राचार्य रुप कुमार क्षेत्री, श्रीकृष्ण नेत्रालयका प्रबन्ध निर्देशक आमोद सिंह, मोलहु गुप्ता, लायन्स सिद्धार्थनगरका निवर्तमान अध्यक्ष चन्द्र बहादुर थापा, क्लबका पदाधिकारी, सदस्यलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम श्रीकृष्ण नेत्रालयको प्राविधिक सहयोगमा भएको लायन्स सिद्धार्थनगरका तृतीय उपाध्यक्ष उमेश थापा लाटोमगरले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij