
बिहिवार , श्रावण २५, २०८०
भैरहवा, २५ साउन ।
लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्र र बाहिर विद्युतको समस्याका बारेमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवल र वितरण केन्द्र भैरहवाका प्रमुखसँग भेटगरी छलफल गरेको छ ।
कोषका निमित्त उपाध्यक्ष एवं कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराईले विद्युत समस्याको दीर्घकालीन समस्या समाधानका विषयमा छलफल गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख नवराज ओझालाई बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र विद्युतका कारण निकै समस्या भोग्नुपरेकाले त्यसको समाधान गर्न कोषका तर्फबाट प्राधिकरणको ध्यानाकर्षणा गराइएको कोषले जनाएको छ ।
कोषका निमित्त उपाध्यक्ष एंव कोषाध्यक्ष ढुण्डिराज भट्टराईले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा अनियमित विद्युत कटौती, भोल्टेजको समस्याले हैरानी बनाएकाले यसको दीर्घकालीन समाधान गर्न आग्रह गरे ।
सदस्य सचिव सानुराजा शाक्यले धेरैपटक छलफल गरिए पनि विद्युतको समस्या हल हुन नसकेकाले कोषभित्रको विद्युत समस्याको प्राविधिक समस्याको अध्ययन गरी समाधान गर्न आग्रह गरे ।
भेटघाटमा कोष योजना प्रमुख सरोज भट्टराईले गुरुयोजनामा विद्युतको समस्यालाई समाधान गर्न कोष प्राधिकरणसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । गुरुयोजना क्षेत्रभित्र विस्तार गरिएको तार, सोलारको उर्जा विद्युत ग्रिडमा जडान जस्ता समस्यालाई प्रदेश तहबाट समाधान गर्ने प्रदेश निर्देशक नवराज ओझाले बताए ।
कोषका पदाधिकारीहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रसँग समेत भेट गरेको छ ।
यसअघि कोषाध्यक्ष भट्टराईको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरी कोष र लुम्बिनी क्षेत्रका लागि छुट्टाछुट्टै रुपमा विद्युत वितरणको व्यवस्था गर्न माग गरिएको थियो । सोही मागअनुसार अहिले लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र छुट्टै फिडर जडान समेत भइसकेको छ । जसका कारण अहिले लुम्बिनीको बाहिर क्षेत्रमा विद्युत कटौती, लो–भोल्टेज जस्ता समस्याहरु समाधान भएको नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij