
बुधवार , श्रावण २४, २०८०
भैरहवा, २४ साउन ।
प्रस्तावित शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन् । विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको ‘विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ सरोकारवालाका सुझावहरुलाई वेवास्ता गरी ल्याइएको भन्दै त्यसप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको विद्यालयका सञ्चालकहरुले आपत्ति जनाएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही र जिल्लाका स्थानीय तहका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले विधेयकमा राखिएका कतिपय प्रावधानहरु निजी लगानीका संस्थागत विद्यालयहरुप्रति पूर्वाग्रही मात्र नभएर संविधानविपरीत, अव्यवहारिक र अन्यायपूर्ण समेत भएको आफूहरुले महसुस गरेको बताएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख उपसचिव माधव वन्जाडे तथा स्थानीय तहका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्याब्सन, एन–प्याब्सन र हिसान रुपन्देहीले हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरु नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था विद्यमान रहेको बताएका हुन् ।
प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावनाविपरीत, अव्यवहारिक र दुराशययुक्त रहेको स्पष्ट देखिएको प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बताए । उनले निजी लगानीका विद्यालयको छाता संगठनको प्रतिनिधित्व हुनुपर्ने विभिन्न समिति तथा उपसमितिहरुमा समेत वेवास्ता गरी प्रस्ताव गरिएको विद्यमान विधेयक विभेदकारी हुनुका साथै अन्यायपूर्ण रहेको बताए । उनले भने, ‘यथास्थितिमा विधेयक पारित भएमा निजी लगानीका विद्यालयहरुको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्वद्र्धन असम्भव मात्र नभइ यस्ता विद्यालयहरु बन्द हुने निश्चित प्राय छ ।’
‘अत : उक्त विधेयक संसदमा पेश हुन अगावै हाम्रा सरोकारका प्रावधानहरुको उचित सम्बोधन नभए देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरु बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नबाहेक हामीसँग कुनै पनि विकल्प नरहने व्यहोराका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदासमेत कुनै ठोस निकास प्राप्त नभएको खण्डमा केन्द्रीय कार्यसमितिले आफ्ना माग पुरा नभएसम्मका लागि देशैभरीका कम्पनी, निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरु बन्द गरी अगाडि बढ्ने निर्णय गरी निर्देशन दिएपश्चात यस जिल्ला अन्तर्गतका विद्यालयहरु केन्द्रको निर्देशन प्राप्त हुनासाथ बन्द हुने विषय ध्यानाकर्षणका लागि अनुरोध गर्दछौं, ’ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले राज्यले ल्याउन लागेको शिक्षा विधेयकले निजी विद्यालयलाई निरुत्साहित बनाउने काम गर्ने बताए । उनले केन्द्रीय कार्यक्रम अनुसार रुपन्देहीमा पनि ध्यानाकर्षण पत्र बुझाइएको बताए । उनले राज्यले आफूरुका मागको सुनुवाइ नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेय, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख वन्जाडे तथा स्थानीय तह (पालिका) का प्रमुखहरुले ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा यथाशिघ्र पठाउने बताए ।
केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र रुपन्देहीका १६ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाइएको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले बताए ।
आन्दोलन अन्तर्गत निजी तथा आवासीय विद्यालय बन्द गर्ने, विद्यालयका सवारीसाधन सार्वजनिक स्थलमा पार्किङ गर्ने लगायतका कार्यक्रमहरु रहेको निजी विद्यालयका सञ्चालकहरुले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij