२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लम्पी स्किनबाट भएको क्षतिको विवरण तयार गरी किसानलाई क्षतिपूर्ति दिन एमालेको माग 

बुधवार , श्रावण २४, २०८०

बारा, २४ साउन । 
नेकपा एमाले बाराले विभिन्न ८ सुत्रीय मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, काठमाण्डौमा ज्ञापनपत्र बुझाएको छ । 

मंगलबार जिल्ला प्रशासन कार्यालय बारामार्फत बुझाइएको ज्ञापनपत्रमा सुख्खाबाट प्रभावित किसानका लागि राहतको व्यवस्था गर्न माग गरिएको छ । 

त्यसै गरी लम्पी स्किन रोगबाट भएको क्षतिको विवरण तयार गरी किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै आँखा पाक्ने रोगको प्रकोप बढेकोले त्यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम र योजना ल्याउन भनिएको छ । समय मै मलखादको उचित व्यवस्था गर्न र शान्ति सुरक्षाको अवस्था खस्किँदै गएकोले त्यसलाई सुदृढ गरियोस् ज्ञापनपत्रमा भनिएको छ ।

एमाले जिल्ला सचिव अध्यानन्द पाण्डेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा किसानले उत्पादन गरेको गरेको तरकारी, खाद्यान्न, दूध, फलफुल र माछाको खरिद बिक्री केन्द्र स्थापना गर्न समेत माग गरिएको छ ।

उखु किसानले सरकारबाट पाउने अनुदान रकम अहिलेसम्म पनि नपाएकोले तुरुन्त उपलब्ध गराउन भनिएको छ भने कृषि प्रयोजनका लागि कृषि मिटर निःशुल्क उपलब्ध गराइयोस् भनी माग गरिएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाइएको थियो सो अवसरमा जिल्ला सचिव पाण्डे एमाले केन्द्रीय सदस्यहरु बलबिर चौधरी, महम्द समीर, एकवाल मिया, प्रदेश कमिटी सदस्य मनोज पौडेल उमेश गुप्ता, जिल्ला कमिटीका भुलन चौधरी, शर्मा बैठा, भोला अधिकारी, अमृतलाल श्रेष्ठ, रमेश चौधरी, पुरुषोत्तम साह, तारा कार्कीलगायतको उपस्थिती रहेको थियो ।