
मंगलवार , श्रावण २३, २०८०
बुटवल, २३ साउन ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले एकमहिने वृक्षारोपण तथा एकहप्ते डेंगु रोगविरुद्धको सचेतना अभियानको शुभारम्भ गरेको छ ।
बुटवलको वडा नम्बर ११ र १७ मा पर्ने सृजनानगरको विभुति पार्कबाट करिब २५० विरुवाहरु रोपेर अभियानको शुभारम्भ गरिएको हो । त्यस्तै सोही ठाउँबाट एकहप्ते डेगुविरुद्धको सचेतना अभियान पनि सुरु गरिएको छ ।
दुवै अभियानको एक कार्यक्रमकाबीच नेकपा एमालेका पोलिटव्यूरो सदस्य दधिराम शर्माले शुभारम्भ गरे ।
सो अवसरमा नेता शर्माले नेकपा एमाले २०८४ मा हुने निर्वाचत लक्षित कार्यक्रमहरु देशका ७५३ वटै पालिकामा सुरु गरेको बताए । सोहीअनुसार टोल, पालिका, जिल्ला र प्रदेशमा विभिन्न रचनात्मक सामाजिक कार्यसँगै कार्यकर्ता निर्देशित कार्यक्रमहरु भइरहेको बताए । उनले २०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा बहुमत ल्याउने गरी एमालेले विभिन्न कार्यक्रम बनाएको बताए । साथै उनले राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीले सामाजिक सचेतनाका कार्यक्रमहरु गर्दै समाज रुपान्तरणमा लागेको भन्दै अझै रचनात्मक काम गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष विकास बस्नेतले राष्ट्रिय युवा सघ नेपालको केन्द्रीय सर्कुलर अनुसार वृक्षारोपण कार्यक्रम गरेको बताए । उनले एकहप्ते डेंगु अभियान जिल्लाका १६ वटै पालिकामा गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मनोज गौचन, केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, किरण नेपाल पन्चमी रेग्मी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई, पार्टीका रुपन्देही जिल्ला सदस्य नकुल शाही ठकुरी, जिल्ला उपाध्यक्ष दिपक ख्डगी, सचिव दिपेश कंडेल, सह–सचिव नवराज थापा, कोषाध्यक्ष नारायण थापा कार्यक्रम सयोजक विमल केसीलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij