
मंगलवार , श्रावण २३, २०८०
काठमाडौं, २३ साउन ।
प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन् ।
सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन् ।
जसअनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान १० बजे बस्नेछ । प्रतिनिधिसभा बैठक ३ बजे बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउने प्रयासस्वरुप सो बैठक बोलाइएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहनेछन् ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने नेकपा एमालेको मागलाई सत्तारुढ दलले अस्विकार गरेपछि गत १२ साउनदेखि नै संसद अवरुद्ध हुँदै आएको छ ।
सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौं बैठकहरु निष्कर्षमा निस्कन सकेका छैनन् । आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षा शिर्ष नेताहरुले गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij