
सोमवार , श्रावण २२, २०८०
भैरहवा, २२ साउन ।
लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालिन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन् गर्ने भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिनस्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालिन माटोको इनारलाई उद्धार उत्खनन गर्ने भएको हो ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचिन इनार, कुवा, माटाका भाडाहरु बगाउन थालेको भन्दै स्थानीयहरुले खबर गरेका थिए ।
लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरु भेटिएकाले स्थलगत रुपमा निरीक्षण गरेको सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले दानव नदीको कटानले इनार (रिंग) हरु बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको कनिारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरी लुम्बिनी संग्रालयमा लैजाने तयारीमा जुटेको बताए । ‘नदीको कटानले प्राचीन समयका महत्वपूर्ण इनार, माटाका भाडाहरु बगाएर भारत लगेको देखिन्छ, यसको संरक्षणका लागि कोष एक्लैले केही गर्न सक्दैन’ उनले भने –‘यसका लागि स्थानीय, प्रदेश र पुरातात्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।’ सदस्य सचिव शाक्यले लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भए अनुसारकै प्राचीन बस्ती रहेको अनुमान गर्न सकिने बताए ।
स्थलगत निरीक्षणपछि कोषका पुरातात्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा वर्षेनी पुरातात्विक इनार र अन्य महत्वपूर्ण वस्तुहरु बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए । उनले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन् गरि संग्रालयमा सुरक्षित गर्ने तयारी गरेको बताए । ‘प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, तर बाढीले बगाइरहेको छ, यहाँ रहेको इनारलाई यसपटक उद्धार उत्खनन गर्छौ’ उप्रेतीले भने ।
पुरातात्विक हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताउँदै भारतका पुरातात्वविद प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धीष्ट साईटको उत्तरापथमा पर्ने व्यापरिक क्षेत्रका रुपमा व्याख्खा गरेको उनले बताए । उनले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आर्कषित गर्न सकिने बताए ।
भारतका प्रख्यात पुरातात्वविद् एसबी देवले बन्जरही र पैसियामा उत्खनन गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरी लगायतका सामग्री भेट्टाएका थिए । निपनियामा अहिले यी सामाग्रीहरु दानव नदीको बाढीसँगै बग्दै आएका छन् ।
कोषले स्थलगत रुपमा गरेको निरीक्षणमा सदस्य सचिव सानुराजा शाक्य, पुरातात्व महाशाखा प्रमुख हिमाल कुमार उप्रेती, कार्यकारिणी सदस्य राजेश शाक्य, प्रेस कन्सल्ट्यान्ट विनोद परियार, कोषका कर्मचारीहरु नवराज अधिकारी, भोला प्रसाद गुप्ता र चन्द्रप्रकाश पाठक गएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij