२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

सिद्धार्थ सञ्जाल सबैको साझा हुनुपर्छ : नगरप्रमुख खान

सोमवार , श्रावण २२, २०८०

भैरहवा, २२ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले सिद्धार्थ सञ्जाल, रुपन्देहीलाई यस क्षेत्रका सबै संघ–संस्थाको साझा संस्था बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार भैरहवाको देवकोटाचोकस्थित होटल नान्समा रहेको सञ्जालको कार्यालय उद्घाटन गर्दै नगरप्रमुख खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनदेखि नगरको विकासमा सिद्धार्थनगरले सञ्जालको साथ खोजीरहेको बताए । 

उनले भने, ‘पवित्र उद्देश्य बोकेर गठन गरिएको सञ्जालमा सबै संघ–संस्था आबद्ध हुनुको विकल्प छैन् । किनकी सबै एक भएर लाग्दा त्यसको परिणाम हामीले चाहेजस्तो पाउँछौं । एक्लाएक्लै हिड्न थाल्यौ भने कुनै पनि एजेण्डामा बलियो हुन सक्दैनौं ।’ सिद्धार्थनगर पालिकाको सरसफाई, हरियाली तथा समग्र विकासमा सिद्धार्थ सञ्जालले सकारात्मक साथ दिनेमा नगरप्रमुख खानले विश्वास व्यक्त गरे । 

कार्यक्रममा सञ्जालका सल्लाहकार तथा भैरहवा मर्निङवाक समूहका अध्यक्ष ओमकार गौचनले सञ्जालका हरेक कार्यक्रमलाई साथ दिने प्रतिवद्धता जनाए । उनले भने, ‘सञ्जाललाई बलियो जनाउन यहाँका सबै संघ–संस्था लाग्नुपर्छ । यसमा मेरो पूर्ण साथ रहन्छ । ’ 

यस क्षेत्रका समस्याहरुलाई सामूहिक रुपमा उठाउन र सम्बन्धित निकायलाई दबाब सिर्जना गर्ने उद्देश्यले गठन गरिएको सञ्जालले सबैलाई समेटेर अघि बढ्ने अध्यक्ष अनिल कुमार ज्ञवालीले जानकारी दिए । उनकाअनुसार सञ्जालले चर्को बैंक ब्याजदरबाट पीडित, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन, विकास निर्माणमा भइरहेको ढिलासुस्ती, सीमा नाका बेलहिया व्यवस्थित गर्न दबाब सिर्जना गर्ने लगायतका उद्देश्य राखेर सञ्जाल अघि बढेको स्पष्ट पारे । 

सञ्जालले पीडितको पक्षमा, सामाजिक सुशासन तथा यस क्षेत्रको आर्थिक चलायमान, पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्जालका सल्लाहकार रामबहादुर कोइरी, उपाध्यक्ष संजय बजिमय, कोषाध्यक्ष सतिश कुमार कौशल (दीपक) लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । 

365677955_192691057132939_2925723596196482169_n.jpg

२ महिनाअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भइ आधिकारिता पाएको सञ्जालले यही साउन २६ गते शुक्रबार प्रथम अधिवेशन गर्दैछ । विधानत सञ्जालमा यस क्षेत्रका व्यवसायिक तथा सामाजिक संघ–संस्था सदस्य रहने सञ्जालले जनाएको छ ।