
सोमवार , श्रावण २२, २०८०
भैरहवा, २२ साउन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरको आयोजनामा निबन्ध लेखन र चित्रकला प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सिद्धार्थनगर–८ स्थित साई ग्लोबल एकेडेमीमा भएको प्रतियोगितामा प्याब्सन सिद्धार्थनगरमा आबद्ध १९ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
चित्रकलामा आधारभूत तह र निबन्ध प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुबीच प्रतिष्पर्धा भएको थियो ।
निबन्ध प्रतियोगितामा न्यू ईरा बोर्डिङ स्कूलकी जस्मिन बडुवाल प्रथम, आदर्श विद्या मन्दिरका विवेक थापा द्वितीय, जेसीज इङ्लिस बोर्डिङ स्कूलकी आयुस्मा गुरुङ तृतीय र नेपाल नालन्दा माविकी सोनम विक चौथो भएको निर्णायक मण्डलका संयोजक डिल्लीराज भट्टराईले जानकारी दिए ।
त्यस्तै चित्रकला प्रतियोगितातर्फ जेसीज इङ्लिस बोर्डिङ स्कुलकी सम्पदा राई प्रथम, युनिभर्सल पब्लिक हाई स्कूलकी अदिति गुप्ता द्वितीय, लुम्बिनी विस्डम स्कुलका निरज बरई तेस्रो र मोर्डन पब्लिक स्कूलकी आयुसी चौरासिया सान्त्वना भएको निर्णायक बासुकी शमशेर राणाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणाले अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा बाहिर आउने बताउँदै अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन प्याब्सनलाई आग्रह गरे ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले नियमित क्रियाकलाप अन्तर्गत कार्यक्रम गरेको बताउँदै पुरस्कार प्राप्त गर्नु मात्र ठूलो कुरा नभएर प्रतिष्पर्धामा आउनु गौरवको विषय रहेको बताए ।
प्रतियोगितामा विजेताहरूलाई प्रमाणपत्र र पदकले सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक तथा साई ग्लोबल एकेडेमीका प्रिन्सिपल कौशलराज गौतमको स्वागत तथा प्याब्सन सिद्धार्थनगरका सचिव राजेन्द्र घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगिताको विषय ‘प्रदूषणको निकास, वातावरणमैत्री विकास’ रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij