
आइतवार , श्रावण २१, २०८०
काठमाडौं, २१ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भागबण्डा मिलाउन मन्त्रालय थप्ने सत्तारुढ दलको तयारीप्रति आपत्ति जनाएको छ । गठबन्धनले भागबण्डा मिलाउन लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय थप्ने तयारी गरेपछि राप्रपाले आपत्ति जनाएको हो ।
लुम्बिनी प्रदेश सरकारले आठदलीय गठबन्धनको सरकार टिकाउन र भागबण्डा मिलाउन मन्त्रालयको संख्या थप्ने तयारी गर्नु अनुचित रहेको भन्दै राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आपत्ति जनाएका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गठबन्धन सरकारको मन्त्रालय थप्ने कार्यको विरोध जनाउँदै आपत्ति जनाएका हुन् । प्रदेश संरचना बोझिलो हुँदै गर्दा अतिरिक्त आर्थिकभारको समेत परवाह नगरी मन्त्रालयको संख्या बढाउन नहुने भन्दै उनले हरेक प्रदेशमा डरलाग्दो आर्थिक भार र कुनै न कुनै बेथितिहरूको निरन्तरता देशले धान्न नसक्ने बताए ।
आफूहरू प्रदेश संरचना खारेजीको पक्षमा रहेको र प्रदेश खारेज गर्ने विषयमा बहस चलाउन ढिलो भइसकेको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘प्रदेश संरचना यसको प्रयोगबाट नै असफल हुने निश्चित छ तर त्यो पर्खाइबाट ढिला हुने भयो ।
देश खोक्रो हुनुअघि जनताको शक्तिशाली तागतबाट वा राजनीतिक सहमतिका आधारमा प्रदेश संरचना खारेज गर्न सकिन्छ । यसबारे बहस चलाउन अब ढिलाइ नगरौं । सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन, केही छैन ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij