
शनिवार , श्रावण २०, २०८०
रुपन्देही, २० साउन ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले नयाँ सदस्यता सिफारिसको निर्णयलाई पुनर्विचार गरी सच्याउन तयार भएपछि महासंघ रुपन्देहीमा गरिएको तालाबन्दी खुलेको छ ।
महासंघले नयाँ सदस्यका लागि शुद्धीकरण मापदण्डविपरीत, पूर्वाग्रहीपूर्ण र स्वेच्छाचारी ढंगले सिफारिस गरेको भन्दै प्रेस चौतारी नेपाल, रुपन्देहीले त्यसलाई सच्याउन माग गर्दै एक साताअघि तालाबन्दी गरेको थियो । महासंघले नयाँ सदस्यताको निर्णय सच्याउन सहमत भएपछि प्रेस चौतारीले महासंघमा लगाएको ताला खोलेको हो ।
महासंघका पदाधिकारी र प्रेस चौतारीका पदाधिकारीसहित शनिबार भएको छलफलमा महासंघ सदस्यता पुनर्विचार गरी सच्याउने र प्रेस चौतारीले उठाएका माग सम्बोधन गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको प्रेस चौतारी रुपन्देहीका सचिव केशव भण्डारीले जानकारी दिए ।
महासंघको यही साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गर्दै लुम्बिनी प्रदेश समितिमा पठाएको थियो । प्रदेश समितिले पनि त्यसमा पुनर्विचार गर्न भन्दै जिल्लालाई नै फिर्ता पठाएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij