
बिहिवार , श्रावण १८, २०८०
भैरहवा, १८ साउन ।
रुपन्देही लुम्बिनी प्रदेशकै सबैभन्दा बढीचहल पहल हुने जिल्ला हो । सडक संजालमा दैनिक रुपमा सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुर्घटनाको संख्या केही कमी आएको छ । तर, सडक संजालहरु व्यवस्थित हुँदै जाँदा तीव्र गतिका कारण दुर्घटनाहरु बढी हुने गरेका छन् ।
दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानहरु समेत चलाउँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना, सचेत र अन द स्पट कारवाही गर्दाको असरले सवारी दुर्घटनाको तथ्यांककमा बदलाव आएको छ ।
आ.व. २०७८/७९ मा १७२ वटा सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो भने १७१ जना गम्भिर घाइते भएका थिए, अहिले भने आर्थिक वर्ष २०७९/८० मा दुर्घटनामा कमी आएको छ । आर्थिक वर्षभित्र १५१ वटा दुर्घटना हुँदा ८३ जनाको ज्यान गएको छ धने ११५ जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ ।
जिल्लाको कार्यभार सम्हालेका प्रहरी निरीक्षक साकार राज पन्त आएदेखि दुर्घटना मात्रै होइन, कारवाहीबाट राजस्व समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को माघदेखि असारसम्म ९३ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९÷८० को सो अवधिमा ३५ प्रतिशतले घटी ५९ वटा दुर्घटना भएको छ । दुर्घटनाबाट ११ दशमलव ४ प्रतिशतले मृत्युदर र गम्भिर घाइते हुनेको दर पनि घटेको छ ।
आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटना २ सय २१ वटा सवारीसाधन संलग्न भएकोमा अधिकांश तीव्र गतिका कारण दुर्घटना भएको छ । भएका दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर १ सय ३६ वटा, कार जीप २८, ट्रयाक्टर १५, ट्रक १०, बस ८ र शारीरिक शक्तिले चल्ने १२ रहेको छ ।
रूपन्देहीमा भएका सवारी दुर्घटनाहरूमा धेरै चालकको लापरवाही र तीव्र गतिकै कारण भएको अनुसन्धानले देखाएको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख पन्तका अनुसार ११० वटा दुर्घटना तीव्र गति, ३७ वटा चालकको लापरवाही र केही यात्रुको गल्ती, ओभरटेक, मापसे सेवन र ओभरलोडले भएका छन । ती दुर्घटनाहरुमध्ये सांझ ६ बजेपछि धेरै दुर्घटना भएका छन् भने केही बिहान र दिउँसोमा भएका छन् ।
पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सीमित बाटो, क्षमता भन्दा बढी यात्रु बाक्ने, सडकको अवस्था मौसमको कारण र हरेक वर्ष सवारीसाधनको संख्या वृद्धि हुँदै जानुले दुर्घटना हुने गरेको छ । दुर्घटना तथा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल बिस्तारसंगै ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, चालकको लापरवाही, तीव्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ ।
तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न स्पीड जाँच गर्ने लेजर गन मेसिन (राडर)सहित समय समय कारवाही हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० को पुससम्म ९ सय ६७ सवारीसाधनलाई कारवाही गरेर ४ लाख ८३ हजार त्यस्तै माघदेखि असार सम्म १४ सय ३६ सवारीसाधनलाई कारवाही गरेर ७ लाख १८ हजार गरी एक वर्षको अन्तरालमा १२ लाख बढी राजश्व तीव्र गति हाक्नेसँग गराइएको छ ।
जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले बिना लाइसेन्स सवारीसाधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहकमा सामान ओसारपोसार गरे, बिना कागजात सवारी चलाए जरिवाना गर्ने व्यवस्था भए अनुरुप कारवाही पनि गर्दै आएको छ । नियमविपरीत चलेका सवारीसाधनमाथि जिल्लाका विभिन्न ठाँउमा नियमित र छडके जाँच गर्न थालेपछि आर्थिक वर्ष २०७९८० मा हालसम्मकै सबै भन्दा बढी राजश्व कारवाहीबाट असुल गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा ५८ हजार दुई सय सवारीसाधनबाट ५ करोड ७३ लाख, आर्थिक वर्ष २०७८/७९ मा ६५ हजार ९ सय ५० वटा सवारीसाधनलाई कारवाही गरेर ६ करोड ९१ लाख राजश्व उठाएको ट्राफिकले आर्थिक वर्ष २०७९/८० मा ६४ हजार २ सय ५० वटा सवारीसाधनका चालकबाट ७ करोड ६ लाख राजश्व असुल गरेको छ । जुन हाल सम्मकै बढी रहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिए । जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने अधिकांश सवारीमध्ये ट्रक, बस, मोटरसाइकल, जीपकार र ट्याक्टरका चालक रहेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा १ सय १४ वटा कार्यक्रममार्फत ११ हजार बढीलाई जनचेतनामूलक कार्यक्रममा सहभागी गराइएको छ भने आर्थिक वर्ष २०७९/०८० मा ८ सय ४ वटा कार्यक्रममार्फत १ लाख १५ जना बढीलाई ट्राफिक सचेतना गराइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij