
सोमवार , श्रावण १५, २०८०
भैरहवा, १५ साउन ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) रुपन्देहीको आयोजनामा भैरहवामा एकदिने करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको सहकार्यमा सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा कार्यक्रम भएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताए ।
वार्षिक कार्ययोजनाअनुसार आयोजना गरिएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौला र कर अधिकृत सागर पोखरेलले सहजीकरण गर्नुभएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उद्योगी–व्यवसायीलाई करको विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्व अध्यक्ष खिम बहादुर खत्री, निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारी, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेलगायतले बोलेका थिए ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यता, चेम्बर अफ कमर्स रुपन्देहीका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक केशवराज ज्ञवालीको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij