
सोमवार , श्रावण १५, २०८०
भैरहवा, १५ साउन ।
विभिन्न माग राख्दै लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि धर्ना दिएको छ । सरकारले निर्माण व्यवसायीका माग पूरा नगरेका कारण आइतबार १ घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको संघका कोषाध्यक्ष प्रितम रौनियारले बताए ।
विभिन्न निकायमा काम गरेवापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ठ म्याद थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्का मूल्य समायोजन गर्नुपर्ने, अव्यवहारिक माईलस्टोन खारेज गर्नुपर्ने र बीमा निर्देशिका–२०७९ खारेज गर्नुपर्ने निर्माण व्यवसायीको माग छ ।
त्यस्तै उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर्नुपर्ने, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर्नुपर्ने, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर्नुपर्नेलगायत उनीहरुको माग छ ।
धर्ना कार्यक्रममा बोल्दै लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष दीपक शाहीले साउन ५ गते काठमाडौंमा भएको नेपाल निर्माण व्यवसायी महासंघको भेलाले ७७ वटै जिल्ला र ७ वटा प्रदेशमा आन्दोलन गर्ने कार्यक्रमअनुसार धर्ना दिइएको बताए ।
त्यस्तै संघकी सल्लाहकार मन्जु भुसालले वर्षभरी काम गरेर भुक्तानी पाउनुपर्ने माग राख्दै आन्दोलित हुनुपर्दा दुःख लागेको बताइन् । उनले निर्माण व्यवसायीका माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने बताइन् । उनले भनिन्, ‘सरकारले हाम्रा माग पूरा गर्नेमा विश्वस्त छौं । धर्नामा बस्नुपरेको छ, यो हाम्रो बाध्यात्मक स्थिति छ ।’
संघका महासचिव प्रयास खड्काले निर्माण व्यवसायीका माग पूरा नभए अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।
लुम्बिनी निर्माण व्यवसायी संघ बुटवल शाखा सचिव बुद्धि थापाले वर्षभरी काम गरेर भुक्तानी पाउने बेला आन्दोलनमा उत्रिनुपरेको बताए । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले आन्दोलनमा उत्रिनु रहर नभइ बाध्यता रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij