
आइतवार , श्रावण १४, २०८०
बुटवल, १४ साउन ।
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी सञ्चालन गरिरहेको छ । जसअनुसार यो वर्ष १ हजार विरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोपेको थियो ।
यो वर्ष बैंक १५ औं वर्षमा यात्रा गरेकाले देशभरका ११ वटा क्लष्टरमार्फत एक हजार विरुवा रोपेर १५ हजार पुर्याउने कार्यक्रम तय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
‘शाइन ग्रो ग्रिन प्रोजेक्ट’ अन्तर्गत शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड मिड सेन्ट्रल सब क्लस्टर मंगलापुरले तिलोत्तमाको गौतमबुद्ध मा.बि. केवलानीमा वृक्षारोपण गरेको छ । बैंकले विद्यालय परिसरमा स्वामी, धुपी, गुल्मोहर, अशोका, कल्की प्रजातिका ८० बढी विरुवाहरु रोपेको कलस्टर हेड विष्णु थापाले जानकारी गराए ।
उक्त कार्यक्रममा विद्यालयका प्राचार्य मृगेन्द्र रिजालले वातावरण संरक्षण निकै ठूलो चुनौति बन्दै गएको परिस्थितिमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकले वृक्षारोपणलाई निरन्तरता दिएर वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै रोपेको विरुवा संरक्षणमा बैंक र विद्यालयले समेत ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा थप नविनतम कार्यहरु गर्दै जान बैंकलाई सुझाव दिए ।
शाइन रेसुंगा डेभलपमेण्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । ५ अर्ब अधिकृत पूँजी र ४ अर्ब २८ करोड चुक्ता पूँजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij