२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

सियारी–४ छपियामा अस्थायी प्रहरी पोष्ट

शनिवार , श्रावण १३, २०८०

भैरहवा, १३ साउन ।
रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गएपछि शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरी २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो ।

भौगोलिक रुपमा पनि ईलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकोले र बढ्दो चोरी, लुटपाट तथा लागु औषध दुव्र्यसनको घटनाबाट स्थानीय त्रसित भएकोले न्यूनीकरण गर्दै व्यवस्थित बजार र सुशासन कायम गराउँदै स्थानीयको सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले बताए ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश जोशीले अस्थायी प्रहरी पोष्टको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै उनले जनसंख्या बढ्दै गई चहलपहल र आर्थिक क्रियकलाप बढ्दै गएकोले स्थानीय, सियारी गाँउपालिका र सुरक्षा समितिको आवश्यकताअनुसार  सुरक्षाका दृष्टिले संवेदनशील भएकाले अस्थायी प्रहरी पोस्टको स्थापना सुरुवात मात्रै रहेको हो, यसलाई चौकी र ईप्रका हुँदै अगाडि बढाउदै जानुपर्ने बताए ।

‘अहिले यहाँ आमुल परिवर्तन भएकोले यहाँसम्म आएका छौ, स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगती सबै न्यूनीकरण र नियन्त्रण गर्न सकिनेछ,’ उनले भने । मनभित्र सबैको पाप हुने हुदाँ शिक्षा र विवेकको प्रयोग भए अपराध आफै रोकिने उनले बताए । 
साथै, प्रदेश प्रहरी कार्यालयले प्रदेशका ३ वटा जिल्ला दाङ, रुपन्देही र बाकेमा डिजिटल प्रणलीबाट जरिवाना असुल गर्ने प्रणालीको विकास गरेको छ भने पूर्व पश्चिम राजमार्गको विभिन्न ठाँउमा भएको चेक प्वाइन्ट र अनावश्यक चेकजाँचलाई हटाई सिमित र आवश्यकताअनुसारको चेकजाँचले सडकमा प्रहरी कम भए पनि राजस्व बढेको बताए ।

बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरेकोमा धन्यवाद दिदै स्थानीयले अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि धेरै खुसी भएको प्रतिक्रिया दिए । प्रहरी पोष्ट नभएका कारण विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या हुने गरेको थियो ।

पोष्टको स्थापना पछि हामीसँग पनि प्रहरीको साथ छ, हाम्रो सुरक्षाका निम्ति प्रहरी २४ घण्टा खटिने भएकोले यस क्षेत्रमा चोरीका घटना मात्र होइन महिला हिंसा लगायतका अपराधिक क्रियाकलापले प्रसय नपाउने उनीहरुले सुनाए । यसले शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत थप मद्दत पुग्ने र हामीहरु प्रहरी सेवा लिन ईलाका प्रहरी कार्यालयसमेत जान नपर्ने बताए । 

हालै स्थापना गरिएको पोस्टबाट प्रहरीले दत्तचित्त भएर निष्पक्षरूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्ने अपेक्षा लिएको सियारी गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए । अब छपिया चोकमा शान्ति सुरक्षा अमनचैनमा प्रहरी पोष्टले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने बताए । 

Siyari police post.jpg

सो अवसरमा बोल्दै सहायक जिल्ला अधिकारी ध्रुब बहादुर कुवँर, लुम्बिनी प्रेस क्बलकी अध्यक्ष समझना शर्मा, वडाध्यक्ष श्रीराम यादवलगायतले स्थानीय बासीको माग, शान्ति सुरक्षा, जीउधनको रक्षाका लागि गाँउपालिकाको सक्रियतामा प्रहरी चेक पोष्ट स्थापना भएकोले छपिया चोक अब व्यवस्थित हुँदै सुशासन कायम हुने बताए । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ ।