
शनिवार , श्रावण १३, २०८०
भैरहवा, १३ साउन ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले शुक्रबार विद्यार्थीहरुलाई स्वागत, बिदाई तथा सम्मान कार्यक्रम गरेको छ । क्याम्पसमा आयोजित कार्यक्रममा स्नातकोत्तर, स्नातक अन्तिम वर्षका विद्यार्थीलाई बिदाई, स्नातक र स्नातकोत्तरका नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख धु्रव खरेलले विद्यार्थीहरुले किताबको मात्रै ज्ञान राखेर नपुग्ने बताए । उनले समाज, देशको बारेमा र विश्वको बारेमा बुझ्न पनि आवश्यक रहेकोमा जोड दिए । नगरप्रमुख खरेलले विद्यार्थीहरुले ज्ञान आर्जन गरेर मुलुकलाई दिशानिर्देश गर्ने जिम्मेवारीसमेत लिनुपर्ने बताए ।
भैरहवा बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति सदस्य तथा नेकपा एमाले रुपन्देहीका जिल्ला उपसचिव हितराज पन्थीले अनेरास्ववियुलाई सिंगो प्यानल स्ववियुमा विजय गराएको धन्यवाद ज्ञापन गरे । उनले स्ववियुमार्फत विद्यार्थीका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । नेता पन्थीले अब विद्यार्थी किताबमा मात्रै केन्द्रित नभइ समाज, देशको समेत चिन्ता गर्नुपर्ने सही ढंगले नेतृत्व स्थापित गर्न लाग्नुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले विद्यार्थीहरुले यो बेला पढाइसँगै आफ्नो भविष्य र देशको भविष्य बनाउन लाग्नुपर्ने बताइन् । उनले भविष्यका कर्णधार विद्यार्थीहरु भएको बताउँदै आफ्नो र देशको भविष्य बनाउने सपना विद्यार्थीहरुले बोकेर अगाडि बढ्नुपर्ने बताइन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले युवा विद्यार्थीहरु अध्ययनसँगै नेतृत्व विकासमा समेत अग्रपंक्तिमा आउनुपर्ने बताइन् ।
कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष सागर न्यौपाने, अनेरास्ववियुकी नेतृ लक्ष्मी केसी, भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु उपसभापति उमेश थापा लाटो मगर, देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष अर्जुन गैरे, कर्मचारी प्राध्यापक संघका अध्यक्ष प्रकाश भट्टराई, प्राध्यापक पिताम्बर तिवारी, सहायक क्याम्पस प्रमुख बाबुराम काफ्ले, लोसपा विद्यार्थी संगठनका अध्यक्ष जैनुद्दिन देवान, नेविसंघका सचिव विशाल श्रीवास्तव, स्ववियु सचिव सन्नी कलवार, सदस्य मोहित चौधरीलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij