२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

नेपाल प्रहरी श्रीमती संघद्वारा मर्चवारीमा डेंगीसम्बन्धी सचेतना तथा झूल वितरण

बिहिवार , श्रावण ११, २०८०

भैरहवा, ११ साउन ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले मर्चवारमा डेंगी रोग तथा सर्पदंशबाट बच्ने सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही र मर्चवारी गाउँपालिकाको सहयोगमा रायपुर स्वास्थ्य केन्द्र मर्चवारी गाउँपालिका–२ स्थित अमवामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । संघले सचेतनामूलक कार्यक्रमका साथै ६० जना स्थानीय विपन्न परिवारलाई किटनासक झूलसमेत वितरण गरेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै संघकी लुम्बिनी प्रदेश अध्यक्ष सन्ध्या जोशीले अहिले विशेष गरी गाउँघर साथै हरेक क्षेत्रमा डेंगी महामारी फैलिने सम्भावना बढी हुने बताउँदै सचेत हुन आग्रह गरिन् । प्रहरीहरुको श्रीमतीहरु सहभागीतामा गठन भएको संघले विभिन्न किसिमका सामाजिक काम गर्दै आएको उनले बताइन् । 

रुपन्देहीमा पहिलोपटक मर्चवार क्षेत्रबाट सुरु गरी अन्य जिल्लामा पनि विभिन्न क्षेत्रमा कार्यक्रम गर्ने उनले बताइन् । उनले भनिन् ‘डेंगी रोग, सर्पको टोकाइले गर्दा अकालमै ज्यान समेत जान सक्ने भएकोले यसप्रति आफै सचेत हुन जरुरी छ । हामीले जनतालाई प्रशिक्षण मात्र गरिदिने हो । प्रशिक्षण गरी किटनासक झूलले कसरी सुरक्षा गर्दोरहेछ भन्ने सन्देश दिनको लागि भूल वितरण गरेका छौ ।’ घरको वरीपरि सफा गरी झ्यालमा जाली राख्ने र झूल लगाएर मात्र नसुत्न आग्रह गरेकी थिइन् । झूलबाट लामुखुट्टेको टोकाइबाट मात्र नभइ सर्प लगायत विभिन्न किसिमका विषालु किरा र जनावरबाट पनि जोगाउने उनले बताइन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशीले नेपाल प्रहरी समाजमा शान्ति सुरक्षा कायम राख्न सदवै सक्रिय रहेको बताए । पहिलोपटक मर्चवारमा सामाजिक कार्यमा आफू सहभागी भएको बताउँदै मर्चवार आफै इतिहास बोकेको बताए । उनले भने, ‘मर्चवारका रहेक नागरिक प्रहरी जस्तै नेपाली भुभागको सुरक्षा गर्ने आँट राख्दछन् । यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ तपाईहरुलाई थप प्रहरी चौकी अथवा प्रहरीको आवश्यकता भए स्थानीय सरकारसँग समन्वय गरी माग गर्नुहोला त्यसलाई व्यवस्थापन गर्ने प्रतिबद्ध छु ।’ मर्चवार क्षेत्रमा सेवा दिइरहेका प्रहरीबारे कुनै पनि गुनासो भए सिधै आफूलाई फोन गरी जानकारी दिन उनले आग्रह गरे । ‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको सेवा’ यो दुवै नारा प्रहरी र सेवाग्राहीको इमान्दारीता तथा शिष्टाचार बोली र व्यवहारले मात्र हुने भएको बताउँदै सबैले यसप्रति सकारात्मक हुन उनले आग्रह गरे । 

मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले आफ्नो कार्यकालभित्र २४ सै घण्टा सेवा दिने गरी सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताए । उनले भने, ‘मैले समाजको आवश्यकता अनुसार गरेको चुनावी वाचाहरु एक–एक गरी पूरा गर्दै आएको छु । हरेक चुनावी वाचाहरु आफ्नो कार्यकाल भत्र पूरा गर्न प्रतिवद्ध छु ।’ स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग सधै सहकार्य गर्ने उनले बताए । ईलाका प्रहरी कार्यालय मर्चवारको कार्य क्षेत्र ठुलो र उक्त कार्यालयमा सवारीसाधन गतिलो नभएकोले प्रहरी नायब महानिरीक्षक जोशीसँग ईलाका प्रहरी कार्यालयलाई सवारीसाधनको प्रबन्ध मिलाउन समेत उनले आग्रह गरे । 

कार्यक्रममा रायपुर स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत विष्णु विश्वकर्माले डेंगी रोगका कारण, सर्पदंशको अवस्था, त्यसबाट बच्ने उपाय, सर्पदंशपछि प्राथमिक उपचार, डेंगीबाट बच्ने उपाय लगायतबारे सहभागीहरुलाई प्रशिक्षण गरेका थिए । 

कार्यक्रममा मर्चवारी गाउँपाकिा वडा नम्बर २ का वडाध्यक्ष सशीदयाल चौधरी उक्त कार्यक्रमको प्रशंसा गर्दै आयोजक संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए । प्रहरी सहायक निरीक्षक बिर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एस.पी.) भरत बहादुर वि.क.ले कार्यक्रमबारे जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए ।