
बिहिवार , श्रावण ११, २०८०
भैरहवा, ११ साउन ।
चारवटा उद्योग वाणिज्य/व्यापार संघले भन्सार विभागबाट गत असार २२ गते जारी भएको ‘लेबल लगाउने सम्बन्धी सूचना’ का कारण अन्यौलता तथा थप त्रासको वातावरण सिर्जना भएको गुनासो गरेका छन् । बिहीबार सिद्धार्थ उद्योग वाणिज्य संघ, वीरगंज उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ र नेपालगंज उद्योग वाणिज्य संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै २०८० साउन १ गतेदेखि लेबलिङ कार्यान्वयनमा ल्याउने भनी जारी अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै नराम्ररी प्रभावित हुन पुगेको जनाएका छन् ।
उद्योग, व्यापार, व्यवसायहरु अनेक समस्याका बाबजुद जेनतेन व्यापार व्यवसाय सञ्चालन गर्दै आएकोमा विभिन्न सरकारी निकायहरुबाट नियन्त्रणात्मक गतिविधिका नाउँमा भइरहेको अनअपेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किदै गइरहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले भने, ‘पछिल्लो संस्करणको रुपमा लेबलिङ्ग सम्बन्धमा भन्सार विभागद्वारा जारी सूचनाले थप अन्यौल सिर्जना गरेको छ । ’
‘उल्लेखित समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा निजीक्षेत्रको एक टोलीले भन्सार विभागका महानिर्देशकसँग भेटघाट गरी समस्याको गाम्भीर्यता दर्शाइए पनि समस्या समाधान गर्ने तर्फ खासै पहल भएन । भन्सार विभागद्वारा जारी सूचना आफैमा अस्पष्ट त छँदैछ, सँगसँगै स्पष्ट पार्ने सरोकारवाला निकाय पनि लेबलिङबारे प्रष्ट छैनन्,’ विज्ञप्तीमा भनिएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसुरीद्वारा जारी विज्ञप्तीमा लेबलिङ सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभएसम्म लेबलिङ्ग लगाउने प्रावधान स्थगित गर्नुपर्नेतर्फ संघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
विगत केही महिनादेखि भन्सार प्रशासनले राजस्व संकलनका नाउँमा आयातकर्ताहरुलाई दुःख दिने कार्य गरिरहेको चारवटा वाणिज्य संघको आरोप छ ।
भन्सार कार्यालयले बिल बिजकको मूल्यको आधारमा भन्सार जाँचपास नगर्ने, वर्षौ पुराना कार्यविधि अर्थात् सन्दर्भ मूल्य पुस्तिकाका आधारमा मालवस्तु मूल्यांकन गरी जाँचपास गर्ने, वास्तविक मूल्य राखी जाँचपास गराउन खोज्दा पनि ५० प्रतिशतसम्म जरिवाना (पेनाल्टी) लगाउने, मालवस्तुको वास्तविक हार्मोनिक कोडको आधारमा भंसार जाँचपास गर्नुपर्नेमा आफूखुशी हार्मोनिक कोड कायम गरी बढी राजस्व लिने गरेको लगायतका कार्यले नेपाली आयातकर्ताहरु आक्रान्त भएको व्यवसायीको भनाइ छ ।
यस्ता किसिमको अव्यवहारिक र अन्यायोचित कार्य यथाशीघ्र बन्द गरी पैठारीकर्ताले पेश गरेको बिलबिजकका आधारमा भंसार मूल्यांकन गर्नुपर्ने उद्योग वाणिज्य संघहरुको माग छ ।
‘भन्सारबाट जाँचपास भइ छुटेका मालवाहक सवारीसाधनहरुलाई अनुसन्धानका नाउँमा पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीका कारण पनि आयातकर्ताहरु मर्कामा परेका छन् । आवश्यक प्रक्रियाहरु पुर्याइ सम्पूर्ण कागजातहरुका बाबजुद भन्सार जाँचपास भएका मालबाहक सवारीसाधनलाई दुःख दिने नियतले मालवस्तुको न्यून मूल्यांकन भएको भन्दै सवारीसाधनलाई राजस्व अनुसन्धान कार्यालय पठाउने परिपाटी पछिल्ला केही समयदेखि बढिरहेकोले उद्योग, व्यवसायमा थप समस्या सिर्जना गरेको छ, ’विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै ‘विद्यमान जटिल समस्या र अन्यौलपूर्ण अवस्थाको शीघ्र निराकरण गर्न सम्बन्धित निकायहरुमा संघ गम्भीर ध्यानाकर्षण गराउँदछ । समस्याको समाधान नभएमा कडा विरोधका कार्यक्रमहरु अगाडि सार्ने व्यहोरा समेत सम्पूर्ण सरोकारवालामा जानकारी गराउँदछौं, ’विज्ञप्तीमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij