
आइतवार , श्रावण ७, २०८०
भैरहवा, ७ साउन ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारीहरुले अनेरास्ववियुको सदस्यता वितरण गरेको भन्दै चारवटा विद्यार्थी संगठनले आइतबार भैरहवा बहुमुखी क्याम्पस स्ववियु कार्यालयमा तालाबन्दी गरेका छन् । अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ (नेविसंघ), लोकतान्त्रिक विद्यार्थी संघ (लो.वि.संघ) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (रा.प्र.वि.सं.) ले स्ववियुमा निर्वाचित पदाधिकारीहरुबाट अनेरास्ववियुको प्यानर राखी आफ्नो संगठनको सदस्यता वितरण गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष मनिष ढकाल, नेविसंघका सचिव विशाल श्रीवास्तव, लो.वि.संघका जैनुद्दीन देवान र रा.प्र.वि.सं.का उपाध्यक्ष सलमान खानले संयुक्त विज्ञप्ती जारी गर्दै सदस्यता वितरण कार्यमा संलग्न सम्पूर्ण पदाधिकारीहरुलाई कारवाहीको माग गरेका छन् ।
‘स्ववियु पदाधिकारीलाई कारवाहीका लागि ४८ घण्टाभित्रको समय अवधि दिएका छौं । साथै उक्त समयमा हाम्रो माग पूरा नभएको खण्डमा यो आन्दोलन सशक्त रुपमा हाम्रो संगठनले अझ अगाडि बढाउने छ, ’विज्ञप्तीमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij