२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सवमा बालगृहमा खाद्यान्न वितरण

आइतवार , श्रावण ७, २०८०

भैरहवा, ७ साउन ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल लुम्बिनी प्रदेश समितिले सिद्धार्थ बालगृहका बालबालिकालाई सहयोगस्वरुप जिन्सी तथा खाद्यान्न वितरण गरेको छ । सामाजिक उतरदायित्व बोध गरी खाद्यान्न वितरण गरिएको संघले बताएको छ । 

संघको ३४ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश समितिले भैरहवामा एक कार्यक्रम गरी बालगृहमा खाद्यान्न वितरण तथा शुभकामना आदानप्रदान गरेको हो ।

कर्मचारी संघका केन्द्रिय सदस्य सुन्दरप्रसाद श्रेष्ठले वेसहारा असहाय सडक बालवालिकाको भविष्य निर्माण र संघर्षरत कृष्णमाया गुरुङको मानवीय कार्यले आफूहरु प्रभावित भएको बताए । 

त्यसै गरी राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाका प्रबन्धक विष्णु पोख्रेलले सनमाजिक व्यक्तित्वहरुले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग आदानप्रदान गर्न गर्दा शिक्षित र सभ्य समाज निर्माणमा नयाँ आयाम आउने बताए ।

बालगृहमा यस्ता किसिमका अन्य सहयोगका बाबजुद पनि अझै धेरै समस्या एवं आवश्यकता कायमै रहेको बताउँदैं बालगृह सञ्चालिका कृष्णमाया गुरुङले बालबालिका हुर्काउँदा, शिक्षादीक्षा दिँदा आफ्नो निजी जीवनमा झेल्नुपरेका समस्याहरुबारे बताएकी थिइन् । गुरुङका बाबुआमा बेलायतबासी भएर पनि उनी भने नेपालमा नै बसी असहाय सडक बालबालिकाको संरक्षणमा जीवन बितारहेकी छन् ।

बालगृहमा हाल शिशुदेखि १८ वर्षमुनीका कक्षा १२ सम्म अध्ययन गर्ने १० बालिका र ७ बालकसहित १७ जना बालबालिका संरक्षित छन् । 

संघमा आबद्ध लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत सहयोग एवं सक्रियतामा वार्षिकोत्सव एवं खाद्यान्न वितरण कार्यक्रम मनाएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष श्रीभक्त श्रेष्ठले जानकारी दिए ।

वार्षिकोत्सव समारोह एवं खाद्यान्न वितरण कार्यक्रममा भैरहवा शाखाका सहायक प्रबन्धक अर्जुन अर्याल, सुनवल शाखाका प्रमुख सुमन बस्याल, खस्यौली शाखाका निमित प्रमुख प्रकाश गैरे, सूर्यपुराका स्वयता काफ्ले पाण्डे, कोटिहवा शाखाका प्रमुख एवं केन्द्रिय सदस्य सुन्दरप्रसाद श्रेष्ठ, अर्घाखाँचीको ठाडाका शाखा सहायक ध्रुव पाण्डेलगायत विभिन्न शाखाका निमित, प्रमुखहरु, ऋण अधिकृतहरुको सहभागीता रहेको थियो ।