
आइतवार , श्रावण ७, २०८०
बुटवल, ७ साउन ।
बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा ४५० बढी विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी उच्च शैक्षिक गणस्तरीयता र जीवन उपयोगिसीपका बारेमा अभिमुखीकरण गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षाका लागि अग्रसर कक्षा ११ का विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिदै विद्यार्थीको यो समय जिज्ञासु समय भएकाले असल क्रियाकलाप सिकाइमा ध्यान दिन जरुरी रहेको बताए । उनले असल आचरण, असल सिकाई र लगनशिलताका लागि अभिमुखीकरण कार्यक्रम विद्यार्थीका लागि औपचारिक शिक्षा जस्तै आवश्यक भएको बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघका पूर्व अध्यक्ष मोहन चापागाई, विद्यालय सञ्चालक समिति सदस्य धर्मेन्द्रनाथ भट्टराई, अभिभावक चोपकान्त न्यौपाने, विद्यार्थीहरु दिपेन पौडेल, अदिती अधिकारी, करण भुसाल, ओजश्वी न्यौपाने, डेविड खनाल लगायतले शैक्षिक सफलताका लागि लगन, आचरण र ब्यवहारलाई सकारात्मक बनाउनुपर्ने बताए ।
विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले असल, शिक्षा, पारिवारिक घुलनमिलन र संस्कारसहितको शिक्षाका बारेमा विद्यार्थीहरुलाई सहजीकरण गरेको कार्यक्रममा सह–प्राचार्य भिमसेन गौतमले विद्यार्थीलाई शैक्षिक नीतिगत विषयका बारेमा आफ्ना भनाइ राखेका थिए ।
प्रज्ञा म्यानेजमेन्ट ग्रुप काठमाण्डौका प्रबन्ध निर्देशक सहदेव महतले जीवनउपयोगी सीप र उच्च शिक्षामा विद्यार्थीले ध्यान दिनुपर्ने कुराका बारेमा विज्ञान र व्यवस्थापन विषयका ४ सय ५० जना बढी विद्यार्थीलाई सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक माधव पौडेलले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij