२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

स–साना अवरोध आउनु स्वभाविक, हौसला बुलन्द गरेर अगाडि बढ्नु जरुरी : भोपेन्द्र यादव 

शनिवार , श्रावण ६, २०८०

भैरहवा, ६ साउन ।
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव पार्टीको केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बित भएपछि सामाजिक संजालमा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् ।

पार्टीको स्थापनाकालदेखि नै संगठन निर्माणमा लागिपरेका यादवलाई कारवाही गरिएकोप्रति नेता कार्यकर्ताहरुले सामाजिक संजालमा असन्तुष्टी व्यक्त गरेका छन् ।

यसअघि कारवाही तथा निलम्बनबारे सञ्चार माध्यमसँग प्रतिक्रिया दिन नखोजेका नेता यादवले शनिबार भने सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले राजनीतिमा सबै कुरा जायज हुने तर्क गरेका छन् ।

हौसला बुलन्द गरेर अगाडी बढ्नु जरुरी छ । स–साना बाधा अवरोध आउनु स्वभाविक नै हो । सामाजिक संजालमा यादवले लेखेका छन्, ‘अहिलेको  किचलो राजनीति र बदलिँदो परिस्थितिमा झन असम्भव भन्ने केही छैन । दशकौंको संघर्षमा यतिको मोड आएन भने त राजनीति गरेको मज्जा पनि आउँदैन । ’

पार्टी सचिवालयवाट तीन महिनाको लागि निलम्बन गर्नु यो संयोगको दुर्घटना मात्र भएको उनको भनाइ छ । यसलाई अन्यथा नलिइ व्यक्तिगत रुपमा तीन महिनासम्म आफ्नो तर्फबाट गर्ने र गर्नुपर्ने सबै काम नियमित रूपमा अहोरात्र खटि सक्दो दुःख सुखमा सहभागी भइ सहयोग र साथ दिने उनको भनाइ छ । 

रुपन्देही निवासी यादवले २०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।

केन्द्रीय सचिव यादवले केन्द्रको निर्देशन उल्लंघन गरेको र गर्न लगाएको र गुटबन्दी गरेको भन्दै पार्टीको केन्द्रीय सचिवालयबाट ३ महिनाको निलम्बन गरिएको जनमत पार्टीले जनाएको छ ।

बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, शंकर खडका, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवानदास यादवलाई विभिन्न किसिमको कारवाही गरिएको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिका प्रमुख तथा राष्ट्रिय उपाध्यक्ष ई. दीपक कुमार साहले विज्ञप्ती जारी गरेका छन् ।