
शनिवार , श्रावण ६, २०८०
भैरहवा, ६ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडीजले वृद्धाश्रममा तन्ना वितरणसहित विविध कार्यक्रम गरेको छ । क्लबले शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरस्थित श्री सत्य वृद्ध सेवा आश्रममा तन्ना वितरण, खिर खुवाउने कार्यक्रम तथा ‘मेहेन्दी फेलोसीप प्रोग्राम’ गरेको हो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर पीएमजेएफ अर्जुनमान सैंजुले लायन्स नोबल लेडीजले उत्कृष्ट कार्य गरेको बताए । उनले भने, ‘क्लबले पवित्र उद्देश्यका साथ वृद्धाश्रममा कार्यक्रम गरेको छ । ’ डिष्ट्रिक गभर्नर सैंजुले क्लबका पूर्व अध्यक्षहरुको सक्रियता आश्यक रहेकोमा जोड दिए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का फस्ट भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स सिद्धार्थनगर नोबल लेडीजले कार्यक्रमका लागि वृद्धाश्रम रोज्नु राम्रो भएको बताए । उनले कतिपय अवस्थामा कार्यक्रमको स्थान चयनले कार्यक्रम सफल हुने बताए । उनले क्लबले संस्कृतिको संरक्षणका लागि साउन महिनामा ‘मेहेन्दी फेलोसीप प्रोग्राम’ गर्नु सराहनीय रहेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडीज वर्ष २०२३/०२४ की अध्यक्ष लक्ष्मी अधिकारीले कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘यो पवित्रस्थलमा विगतदेखि नै केही गर्ने सोच थियो, आज पूरा भएको छ ।’ उनले आफू भन्दा कम भाग्यशालीलाई सहयोग गर्नुपर्छ भन्ने लायन्सको मूल मर्म अनुसार क्लब अघि बढेको बताइन् ।
कार्यक्रममा वृद्धाश्रमकी अध्यक्ष माया खरेल, लायन्स डिष्ट्रिक को–चिफ एडभाइजर मीना पन्थी, रिजन चेयरपर्सन दुर्गा आचार्यलगायतले बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडीजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडीजकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षता, डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक सीता पौडेल (कृति) को स्वागत, कमला आचार्यको ध्वजा अभिवादन तथा लायन्स सिद्धार्थनगर नोबल लेडीजकी सचिव पवि खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij