
शनिवार , श्रावण ६, २०८०
बुटवल, ६ साउन ।
वी. पी. कोइराला अध्ययन प्रतिष्ठान बुटवल–७, रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक वी.पी. कोइरालाको ४१ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।
बुटवल–७ स्थित वी.पी. वाटिकामा रहेको वी.पीको अर्धकदको शालिकमा शनिबार बिहान माल्यार्पण गरिएको हो । वी. पी. कोइराला अध्ययन प्रतिष्ठान बुटवल–७ ले ४१ औं वी.पी. स्मृति दिवस र प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर वी.पी.को शालिकमा माल्यार्पण गरिएको हो ।
माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले वी.पी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेसजनका लागि मार्गदर्शन रहेको बताए । उनले वी.पी.को मार्गदर्शनलाई हरेक काँग्रेस जनले पार्टी जीवनमा अबलम्बन गर्दै आजैका दिनदेखि गुट उपगुटलाई छोडेर सबैले पार्टी एकतामा जोड दिनुपर्ने बताए ।वी.पी. स्मृति दिवस, बी.पी. जयन्ती, राष्ट्रिय मेलमिलाप तथा एकता दिवस लगायतका अवसरमा प्रतिष्ठानले छलफल, अन्तरक्रिया, गोष्ठी तथा अन्य रचनात्मक कार्यक्रम गर्दै आएको कार्यवाहक अध्यक्ष क्षेत्रीले बताए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सचिव खिमानन्द भट्टराईलगायतले वी.पी.ले अवलम्बन गरेको मेलमिलाप तथा एकताको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको धारणा राखे ।
माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि, प्रदेश तथा जिल्ला सदस्यहरु, वडा समितिका पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रतिष्ठानले ४१ औं वी.पी. स्मृति दिवसकै अवसरमा शनिबार सांझ वी.पी. बाटिकामा दीपावली गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सह–सचिव दिनानाथ गिरीले जानकारी दिए ।
वी.पी.स्मृति दिवसकै अवसरमा नेपाली कांगे्रस रुपन्देहीले तिलोत्तमा ११ भू.पू. सैनिकमा वृक्षरोपण, बुटवल नगर समितिले बुटवल वी.पी. चोकस्थित वी.पी.को शालिकमा माल्यार्पण, क्षेत्रीय समिति क्षेत्र नम्बर १ रुपन्देहीले विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij