२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

रोटरीद्वारा बुटवलको मिलनटोलमा वृक्षरोपण

शनिवार , श्रावण ६, २०८०

बुटवल, ६ साउन ।
रोटरी क्लब अफ बुटवलले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरस्थित मिलनटोलमा वृक्षरोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिए ।
ज्योतीनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि पनि यस क्षेत्रमा वृक्षरोपण जरुरी रहेको भन्दै उनले रोटरीले मिलनटोललाई रोजेर वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । 

रोटरी क्लब अफ बुटवलका वर्ष २०२३/२४ का एजी सुरज क्षेत्रीले रोटरीले विभिन्न सामाजिक क्षेत्रहरुमा काम गर्दै आएको भन्दै वृक्षरोपण कार्यक्रम पनि रोटरीको कार्ययोजना अन्तर्गत भएको बताए ।

क्लबका अध्यक्ष करुण खनालले वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको भन्दै वृक्षरोपणपछि यसको संरक्षणमा विशेष ध्यान पुर्याउन मिलन टोल विकास संस्थाका पदाधिकारीलाई आग्रह गरे । उनले क्लवले विभिन्न क्षेत्रसँगको सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रमहरु अगाडि बढाउन चाहेको उनले बताए ।

कार्यक्रममा क्लबका निर्वमान अध्यक्ष बोनिन पियाले ज्योतीनगर क्षेत्रको पहिरो रोकथामका लागि पनि यस क्षेत्रमा बिरुवाहरु लगाउनु अति आवश्यक रहेको भन्दै क्लबले गरेको कार्यको प्रशंसा गरे । 

मिलन टोल विकास संस्थाका अध्यक्ष माधव पाण्डेले क्लवले ज्योतीनगर क्षेत्रको मिलन टोलमा वृक्षरोपणको स्थान तय गरेकोमा धन्यवाद दिंदै रोपिएका विरुवाको संरक्षणमा संस्थाले ध्यान दिने प्रतिवद्धता जनाए । त्यस्तै क्लबका सचिव तारानाथ भट्टराईले क्लवले गर्ने हरेक कार्यक्रम उत्तिकै महत्वपूर्ण रहेको बताए । 

वृक्षरोपण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा मिलन टोल विकास समितिका पदाधिकारी र स्थानीयको सहभागीता थियो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवल, रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पस र रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेज पनि सर्भिश पार्टनरको रुपमा सहभागी थिए । क्लबको १४७२ औं नियमित बैठकको अवसरमा वृक्षरोपण कार्यक्रम गरिएको थियो ।