
शुक्रवार , श्रावण ५, २०८०
काठमाडौं, ५ साउन ।
नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन् । पछिल्लो २ हप्तामा मात्र २ हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २ साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुसयता १ हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म २ हजारभन्दा बढी बिरामी थप भएका छन् ।
स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ । पछिल्लो २ सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन् । सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ ।
बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ । महाशाखाको तथ्यांकअनुसार पुसयता नेपालमा ३ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा– १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ । यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेका छन् । डेंगु संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij