
बिहिवार , श्रावण ४, २०८०
भैरहवा, ४ साउन ।
लुम्बिनी प्रदेश सरकारले दुईवटा मन्त्रालयको फेरेर राजपत्रमा प्रकाशित गरेसँगै सन्तोष कुमार पाण्डेय गृहमन्त्री बनेका छन् । पाण्डेय लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत हुन् ।
मन्त्रीपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको थियो । त्यस्तै बैठकले आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको थियो ।
त्यसै गरी प्रदेशको आर्थिक मामिला मन्त्रालयको नाम फेरिएपछि धन बहादुर मास्की अब अर्थ मन्त्री बनेका छन् ।
लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यविभाजन नियमावली २०७९ को अनुसूची-१ र अनुसूची-२ मा संशोधन गरिएर प्रदेश राजपत्रमा प्रकाशित भएपछि मन्त्रालयहरुको नाम परिवर्तन भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij