२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

कांग्रेस बारा जिल्ला सचिवमाथि कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न माग

बिहिवार , श्रावण ४, २०८०

बारा, ४ साउन । 
नेपाली कांग्रेस बाराले जिल्ला कार्यसमितिका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ । सवारी दुर्घटनाको विषयमा छलफल गर्न पुगेका यादव प्रहरी कार्यालयभित्रै कुटिएपछि आन्दोलित बनेको कांग्रेसले कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग गरेको हो ।

कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापपत्र बुझाउँदै प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

कांग्रेसको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) ले समेत साथ दिएको छ । प्रहरीले कांग्रेस सचिव यादवमाथी कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथी समेत दुव्र्यवहार भएको भन्दै एकीकृत समाजवादीले कांग्रेसको मागमा समर्थन जनाएको हो । कांग्रेस र एकीकृत समाजवादीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले कांग्रेस सचिव यादवमाथी कुटपिट गरी प्रहरी कार्यालयमै थुनामा राखेर मानसिक यातना दिएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमार्फत कुटपिट घटनामा संलग्न प्रहरी अधिकारीलाई कारवाही नभए संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । प्रजिअ सापकोटालाई कांग्रेस जिल्ला उपसभापति मनोट भट्ट, जिल्ला सचिव राजेश रौनियार, जिल्ला सहसचिव प्रमोद यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, जिल्ला सचिव विक्रम ठाकुरलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।

कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथि कुटपिट भएको यादवले बताएका छन् ।

कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ । उनको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । पछिल्लोपटक बारा प्रहरीको कारण विभिन्न स्थानीय तह र जनप्रतिनिधिबीच विवाद तथा प्रहरीको दमन बड्दै गएको छ । बारा प्रहरी कार्यालयका प्रमुख होबेन्द्र बोगटीको कार्यसम्पादनमा समेत प्रश्न जिल्लामा उठ्दै गएको हो । (न्युज कारखाना)