
बिहिवार , श्रावण ४, २०८०
बुटवल, ४ साउन ।
बुटवल टाईगर्स राउण्ड टेबल २८ ले देवदहमा रहेको सत्यसाई विद्यापीठमा २ वटा नयाँ कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । विद्यापीठमा कक्षाकोठा अभाव रहेकाले राउण्ड टेबलको सहयोगमा दुईवटा कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरिएको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी बुटवल टाईगर्स राउण्ड टेबल २८ का अध्यक्ष उमेश अमात्य, राउण्ड टेबल ईन्टरनेशनलका अध्यक्ष जयन्त अग्रवाल, राउण्ड टेबलका केन्द्रीय अध्यक्ष राहुल अग्रवालले साईबाबा चेरिटेवल ट्रष्टका अध्यक्ष खेमनारायण अधिकारी र साईबाबा विद्यापीठका अध्यक्ष रामचन्द्र पौडेल र प्रधानाध्यापक रामवरुण यादवलाई कक्षाकोठाको चावी प्रदान गरेका हुन् ।
राउण्ड टेबल २८ का सदस्य स्व. अनिश ह्येजुको कोभिडको कारणले निधन भएकोमा उनको स्मृतिमा विद्यालयमा कक्षाकोठा निर्माण गरिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए ।
कार्यक्रममा एपीएसी रिजनल चियर लेडिज चेरिटेबल ईन्टरनेशनल आरती अग्रवाल, देवदह नगरपपालिका वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापालगायतको सहभागीतामा हस्तान्तरण गरिएको थियो ।
विटी आरटी २८ ले राष्ट्रियस्तरको कार्यक्रम बुटवलमा पहिलोपटक आयोजना गरेको गल्स ह्वील्स कार्यक्रमबाट उठेको रकम र राउण्ड टेबल नेपालको सहयोगमा उक्त कक्षा कोठा निर्माण गरिएको हो ।
यसअघि राउण्ड टेबलले उक्त विद्यापिठमा ३ वटा कक्षाकोठा निर्माण गरिसकेको थियो । कक्षा ५ अध्ययन अन्य विद्यालयमा जानुपर्ने अवस्था रहेको कारण सोही विद्यापिठमा नै अध्यायन गर्न पाउने गरी थप कक्षाकोठा निर्माण गरी प्रदान गरिएको प्रोजेक्ट कन्भेनर आनन्द ओझाले जानकारी दिए ।
कक्षाकोठा हस्तान्तरण कार्यक्रममा विद्यापीठ परिसर १ सयवटा विरुवा रोपी वृक्षरोपण गरिएको सचिव प्रदिप शाक्यले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij