२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

विद्यालयबाट कम्प्युटर र ट्रली स्पिकर चोरी

मंगलवार , श्रावण २, २०८०

लुम्बिनी, २ साउन ।
रुपन्देहीको ज्ञानकुन्ज प्राथमिक विद्यालयमा चोरी भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–२, भरथापुरस्थित सो विद्यालयबाट कम्प्युटर र ट्रली स्पिकर चोरी भएको हो ।

कक्षाकोठाको ताला फुटालेर तीनथान मोनिटर, तीन थान सिपियु र एक थान ट्रली स्पिकर चोरी भएको विद्यालयका प्रधानाध्यापक अखिलेश कुमार त्रिपाठीले बताए । अन्तर्राष्ट्रिय बौद्ध समाज र एक्चेन्ज हिमालियन च्यारिटीको सहयोगमा २ महिनाअघि ल्याई पठनपाठनमा प्रयोग गरिएका कम्प्युटर सेट चोरी भएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिकाअनुसार करिब १ लाख बढीको कम्प्युटर सेट र १८ हजारको १ थान ट्रली स्पिकर गरी कुल सवा लाख मूल्य बराबरको सामान चोरी भएको छ ।

असार १८ देखि साउन १७ गतेसम्म विद्यालय बन्द रहेको मौका छोपी दाताले दिएका ४ सेट कम्प्युटरमध्ये १ थान लैजान नसकेर विद्यालयको अर्को कक्षा कोठामा छोडीगएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश निसादले बताए । अध्यक्ष निसादले भने, ‘वर्षायाममा बाढीको त्रासले सबै कम्युटरलगायतका महत्वपूर्ण सामानहरु ल्याइ अलि उचाइमा रहेको एउटा कक्षाकोठामा राखेका थियौं । बच्चाहरुलाइ सिकाउन ल्याइएको कम्प्युटर बाढीले त डुबाएन, तर चोरबाट बचाउन पनि सकिएन् । ’

बन्द रहेको विद्यालयको ताल्चा फुटाइ कम्प्युटरलगायतका सामान चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।