२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

महालक्ष्मी विकास बैंकद्वारा भैरहवा नमूना माविलाई जेनेरेटर हस्तान्तरण

आइतवार , आषाढ ३१, २०८०

भैरहवा, ३१ असार ।
महालक्ष्मी विकास बैंक बेथरी शाखाले रुपन्देहीको सिद्धार्थनगर–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत आइतबार विद्यालयलाई एक कार्यक्रमकाबीच १५ केभिएको जेनेरेटर हस्तान्तरण गरिएको बैंकका बेथरी शाखा प्रबन्धक अनिष गौतमले बताए ।

जेनेरेटर हस्तान्तरण कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताले बैंकले १०३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको बताए । उनले भैरहवा नमूना माविमा जेनेरेटरको आवश्यकता रहेको जानकारी पाएपछि बैंकले विद्यालयलाई उपलब्ध गराएको बताए । उनले भने, ‘जुन समाजमा रहेर बैंकले काम गरिरहेको छ, त्यही समाजमा नाफाको केही अशं सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्नुपर्छ भन्ने मान्यताअनुरुप अघि बढेका छौं ।’

विद्यालयमा जेनेरेटर हस्तान्तरण भएपछि अब विद्युत कटौतीको समयमा पनि विद्यालयलाई पठनपाठनमा सहज हुनुका साथै विद्यार्थीहरु लाभान्वित हुने उनको भनाइ छ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष गरी विद्यालयहरुमा सहयोग गरेको गुप्ताले बताए ।

त्यस्तै भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले विद्युत कटौती भएको बेला पठनपाठनमा कठिनाइ भइरहेको अवस्थामा बैंकले बिना कुनै शर्त जेनेरेटर उपलब्ध गराउनु सराहनीय कार्य भएको बताए । उनले विद्यालयबाट बैंकले सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘विद्यालय परिवारकोतर्फबाट महालक्ष्मी विकास बैंकलाई धन्यवाद दिन चाहन्छु ।’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बैंकले जेनेरेटर हस्तान्तरण गरेर सहयोग गरेको भन्दै धन्यवाद दिए । उनले जेनेरेटरको अभावमा विद्युत कटौतीको बेला विद्यार्थीहरुलाई कठिनाइ भइरहेको अवस्थामा बैंकले सहयोग गर्नु प्रशंसनीय रहेको बताए ।

भैरहवा नमूना माविका प्राचार्य चुन्न प्रसाद पाण्डेले महालक्ष्मी विकास बैंकले सहयोग गरेर गुन लगाएको र उपलब्ध जेनेरेटरको सदुपयोग गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताको अध्यक्षता, महालक्ष्मी विकास बैंक लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको स्वागत तथा विद्यालयका शिक्षक रामेश्वर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_2461.JPG