
आइतवार , आषाढ ३१, २०८०
भैरहवा, ३१ असार ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले वृक्षारोपण तथा खाद्यान्न सामग्री वितरण कार्यक्रम गरेको छ । क्लबले शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मोक्षधामस्थित मानव सेवा आश्रममा उक्त कार्यक्रम गरेको हो ।
मानव सेवा आश्रम परिसरमा फलफूलका १ सय वटा विरुवा रोपिएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।
आश्रममा चामल, दाल, आलु, प्याज, नुन, तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा वृक्षारोपण तथा खाद्यान्न वितरण गरिएको हो, आगामी दिनमा पनि यस्ता कार्यलाई क्लबले निरन्तरता दिनेछ, ’उनले भने ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिकका एसीस्टेन्ट गभर्नर रविलाल पोखरेलले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले उदाहरणीय कार्य गरेको बताए ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता, रोटरी डिष्ट्रिकका एसीस्टेन्ट गभर्नर रविलाल पोखरेलको प्रमुख आतिथ्यता, मानव सेवा आश्रमका अध्यक्ष रोमणी पाठक, अभिभावक लोकनाथ भुसाल, मानव सेवा आश्रमका प्रदेश प्रमुख, सदस्यहरु, रोटरी क्लबका पूर्व अध्यक्ष, रोट्रयाक्ट क्लबका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । उक्त आश्रममा ९२ जना आश्रित छन् ।
त्यस्तै क्लबले गत असार २६ गते विश्व जनसंख्या दिवसको अवसर पारेर तिलोत्तमाको करहियास्थित श्री गौतमबुद्ध माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता गरेको छ । इन्ट्रयाक्ट क्लब अफ लुम्बिनी र विद्यालयका पहल तथा सहयोगमा भएको प्रतियोगितामा कक्षा ८, ९ र १० मा अध्ययनरत २० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको क्लबले जनाएको छ ।
त्यस्तै सोही विद्यालयमा विश्वमा जनसंख्या वृद्धि हुँदै गएमा विश्व वातावरणमा के प्रभाव पार्दछ र यसलाई कसरी रोक्न सकिन्छ विषयमा तालिम कार्यक्रम भएको थियो । क्लबको वर्ष २०२३/०२४ अन्तर्गत भएको पहिलो कार्यक्रममा रोटरी डिष्ट्रिकका एसीस्टेन्ट गभर्नर रविलाल पोखरेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
असार १६ गतेदेखि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरमा नारायण प्रसाद भण्डारीले अध्यक्षको जिम्मेवारी पाएका छन् । यद्यपि साउन ४ गते क्लबको पदस्थापन कार्यक्रममा राखिएको छ । तर, उनले कार्यक्रमहरु सुरु गरिसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij