२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कलश बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा

आइतवार , आषाढ ३१, २०८०

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ३१ असार ।

    श्री कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–६, रुपन्देहीको १२ औं वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै संस्थाका ज्येष्ठ सदस्य तथा समाजसेवी भैरव प्रसाद कलवारले सहकारीलाई मजबुत बनाउन शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भैरहवाका केही सहकारी संस्थाहरु अफ्ठयारो परिस्थितिमा रहेको बताए । उनले भने, ‘स्थानीय व्यक्ति सञ्चालक भएको सहकारी संस्थामा खासै समस्या छैन । तर, बाहिरबाट आयातित केही सहकारीले सर्वसाधारणको रकम फिर्ता गर्न सकेका छैनन् ।’

    उनले शेयर सदस्यलाई अनिवार्य मासिक बचत गर्न आग्रह गरे । उनले वर्तमान समय जस्तो जटिल परिस्थिति सधै नहुने भएकाले मनोबल उच्च बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै संस्थाका सल्लाहकार अजय कुमार गुप्ताले कोभिड–१९ र आर्थिक मन्दीका कारण समस्या बढेको बताए । उनले अहिलेको परिस्थितिका कारण उतारचढाव भइरहेको बताए । उनले भने, ‘यो संस्था प्रगतिशिल छ । ’

    संस्थाका कानूनी सल्लाहकार अधिवक्ता दिलिप कुमार मल्लिकले सहकारीले ऋण असुलीलाई निरन्तरता दिनुपर्ने बताए । उनले सहकारी सहकार्यबाट चल्ने संस्था भएको बताए । उनले संस्थाले अझ प्रगति गरोस् भन्दै शुभकामना व्यक्त गरे ।

    लेखापरीक्षक लक्ष्मण पौडेलले सहकारीले मासिक बचतलाई जोड दिनुपर्ने बताए । उनले प्रलोभन देखाएर पैसा लिने तर फिर्ता नगर्ने केही सहकारी संस्थाका कारण सहकारी संस्थाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए ।

    सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै श्री कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष धिरज कुमार मल्लिकले हाल संस्थाको शेयर पूँजी रु. १ करोड २ लाख ६ सय, निक्षेप रु. ५३ लाख ३६ हजार ३ सय ९ र ऋण लगानी रु. १ करोड ४१ लख ७५ हजार ७ सय १४ रहेको जानकारी दिए । उनले वर्तमान आर्थिक परिवेशका कारण सहकारीप्रति हेर्ने दृष्टिकोण केही नकारात्मक रहेको र सुधार हुँदै जाने विश्वास व्यक्त गरे ।

    साधारणसभामा संस्थाका शेयर सदस्य विशाल जैयसवाल र रविन्द्र बहादुर सिंहले आफ्ना धारणा राखेका थिए ।

    श्री कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष धिरज कुमार मल्लिकको अध्यक्षता, समाजसेवी भैरव प्रसाद कलवारको प्रमुख आतिथ्यता, सहकारीका कोषाध्यक्ष गिरिश त्रिपाठीको स्वागत तथा सचिव दुर्गा प्रकाश गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    साधारणसभामा संस्थाका लेखा समिति सदस्य दीपक मल्लिकले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत पेश गरेका थिए ।

    साधारणसभाले संस्थाको लेखापरीक्षकमा हरि प्रसाद अर्याललाई नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष धिरज कुमार मल्लिकले जानकारी दिए ।

    २०६४ सालमा स्थापना भएको श्री कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल ३२० जना शेयर सदस्य रहेको अध्यक्ष मल्लिकले बताए ।